झापामा दुई जना फरार अभियुक्त पक्राउ
झापा । झापामा दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ बस्ने ५२ वर्षीय लालवीर विश्वकर्मा र कनकाई नगरपालिका २ बस्ने २८ वर्षीय भीम राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूले पन्ध्र र तीस दिन कैद सजाय छल्नलाई फरार रहेका थिए । झापा जिल्ला अदालतबाट २०६७ साल जेठ ३१ गते सवारी ज्यान मुद्दामा ३० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएका विश्वकर्मा लुकेर बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले शनिवार उनलाई पक्राउ गरेको थियो । यसैगरी, २०७४ वैशाख २१ गते बन पैदावार हानी नोक्सानी तथा ओसारपसार मुद्दामा सोही अदालतबाट १५ दिन कैद र ३४ हजार रुपैयाँ जरिवाना तोकिएका राईलाई सुरुंगा इप्रकाले पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा आज पेस गरिएका दुबैलाई पीसीआर टेस्ट गर्दा नेगेटिभ आएपछि कारागार चलान गर्न आदेश भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।