२०८३ बैशाख ३ गते , विहीबार

झापामा मानव अपहरण र कुटपिट अङ्गभङ्ग मुद्दाका दुई फरार अभियुक्त पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ २२ गते , विहीबार
झापामा मानव अपहरण र कुटपिट अङ्गभङ्ग मुद्दाका दुई फरार अभियुक्त पक्राउ

भद्रपुर  । मानव अपहरण तथा शरीर बन्धक, जबरजस्ती चोरी र कुटपिट अङ्गभङ्गका दुई फरार अभियुक्त पक्राउ परेका छन् ।  पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतको आदेशमा कैद भुक्तानका लागि बिहीबार  झापा कारागार चलान गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । 
प्रहरीका अनुसार मानव अपहरण तथा शरीर बन्धक, जबरजस्ती चोरी मुद्दाका फरार अभियुक्त मोरङ साबिक उर्लाबारी नगरपालिका २, हाल वडा नम्बर ५ बस्ने ३४ वर्षीय सुसन भन्ने राजेश्वर लिम्बु पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।  २०७२ साल पुस १४ गते राती अभियुक्त लिम्बुले बिर्तामोड नगरपालिका ६ बस्ने २७ वर्षीय विशाल ढुङ्गेललाई बा १३ च ६५९७ नम्बरको गाडीमा हालेर अपहरण गरेका थिए । उनलाई गाडी हालेर काँकडभिट्टा पारी भारतको पानीटंकी लगेर मुखमा पट्टी बाँधी कुटपिट गरी पाँच हजार रुपैयाँ लुटेका थिए । त्यसपछि पीडित ढुङ्गेलले त्यसको भोलि पल्ट लिम्बुविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टामा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा मुद्दा चल्दा लिम्बुलाई झापा जिल्ला अदालतले सात वर्ष कैद सजाय र पचास हजार रुपैयाँ जरिवाना तोकेको थियो । 
अदालतले फैसला गरेदेखि फरार भएका लिम्बुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङको समन्वयमा माघ २० गते पक्राउ गरिएको डिएसपी थापाले बताए । त्यस्तै कुटपिट अङ्गभङ्ग मुद्दाका फरार अभियुक्त दमक नगरपालिका ३ बस्ने २३ बर्षीया सुनिता राईलाई प्रहरीले पक्राउ गरेको छ । 
२०७५ साल पुस २९ गते झापा जिल्ला अदालतले सो मुद्दाको फैसला सुनाउँदै राईलाई दुई वर्ष कैद सजाय र एक लाख जरिवाना तोकेको थियो । फैसला सुनाएदेखि फरार भएकी उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले माघ २२ गते पक्राउ गरेको हो । 
 

सम्बन्धित समाचार