कम्युनिस्ट र काँग्रेस माथिदेखि तलसम्म भ्रष्ट्राचारमा लिप्त : राजेन्द्र लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सङ्घीय साँसद् राजेन्द्र प्रसाद लिङ्देनले काँग्रेस र कम्युनिस्टको विकल्पको रुपमा राप्रपा रहेको उल्लेख गरेका छन् । राप्रपा झापा एकता जिल्ला अधिवेशनको शनिवार बिर्तामोडमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
ती दुवै पार्टी आपसी लडाई र झगडामा व्यस्त भएको हुँदा अहिलेको समय राप्रपाका लागि उर्वर रहेको धारणा राखेका थिए । कम्युनिस्ट र काँग्रेस वैचारिक रुपमा एक भए पनि व्यवहारिक रुपमा माथिदेखि तलसम्म भ्रष्ट्राचार लिप्त भएको आरोप लगाएका थिए । राप्रपा एकजुट भएर स्थानीय देखि केन्द्रसम्म सङ्गठन मजबुत बनाएर आउने निर्वाचनमा सफलता हासिल गर्न तत्काल गतिविधि सुरु गर्न उनले निर्देशन दिए ।
एक वर्ष अघि संसद्मा उठाएको काँग्रेस र कम्युनिस्टको खतराको विषयमा अहिले आएर कठै भन्नु बाहेक केही नभएको उनले जनाए । काँग्रेस ३० वर्ष देखि पटक– पटक देशका लागि असफल साबित भइसकेको छ भने वर्तमान दुई तिहाइको सरकार पाँच वर्षसम्म पनि नटिक्ने उनले उल्लेख गरे । देश लुट्ने ठाउँमा यी दुई पार्टी रहेको उनले आरोप लगाए । राप्रपाले उठाउँदै आएका एजेन्डा अव पूरा हुने सङ्केत देखिएको उनको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य ,रोशन कार्की ममता राई, विश्व मन थापा ,सुशीला बस्नेत,वासुदेव भट्टराई,नगर अध्यक्षको तर्फबाट रञ्जु प्याकुरेल, पालिकाको तर्फबाट अञ्जरा आलम, बाबुराजा श्रेष्ठ, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रदेश १ का अध्यक्ष राम थापा, प्रदेश १ का सहअध्यक्ष सगुन लावती,पूर्व पूर्व मन्त्री टेकनारायण राजवंशी , पार्टीका संस्थापक जिल्ला अध्यक्ष रोहितकुमार सिंह राजवंशी लगायतले बोलेका थिए ।
अध्यक्ष अम्बर बहादुर विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर, जिल्ला, क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा पार्टीलाई उच्च योगदान पुर्याए बापत संस्थापक अध्यक्ष राजवंशीलाई सम्मान गरिएको थियो भन विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका थिए । अधिवेशनले पार्टीको जिल्लामा नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।