२०८३ बैशाख ३ गते , विहीबार

शिक्षा सहकारीद्वारा रगत अभाव झेलिरहेका बालकलाई १० हजार सहयोग 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १० गते , शुक्रबार
शिक्षा सहकारीद्वारा रगत अभाव झेलिरहेका बालकलाई १० हजार सहयोग 

झापा । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाल बचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।  मेचीनगर–१४ धाइजन घर भएका सात वर्षीय राजवंशी शरीरमा रगत उत्पादन नहुने समस्या ९थालासिमिया० बाट पीडित छन् । उनको उपचारका लागि संस्थाका तर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

सदस्य सेवा केन्द्र दुहागढीमा खाता खोलेर नियमित कारोबार गर्दै आएकी सङ्गीता राजवंशीलाई छोराको उपचार सहयोगका लागि संस्थाले रकम हस्तान्तरण गरेको सचिव दीपेश द्यौरालीले जानकारी दिए ।

स्थानीय सीताराम सामुदायिक अङ्ग्रेजी विद्यालयमा कक्षा १ मा पढ्दै आएका राजवंशी दुई वर्षदेखि शरीरमा रगत उत्पादन नहुने समस्याबाट पीडित छन् । मेची प्रादेशिक अस्पतालमा उनको नियमित उपचार हुँदै आएको छ ।

पछिल्लो समय हरेक दुई महिनामा छोरालाई रगत चढाउनु पर्ने अवस्था आएको आमा सङ्गीताले बताइन् । एक पटकमा अनिमेषलाई दुई पिन्ट रगत चढाउनु पर्छ । यसबाहेक उनलाई नियमित औषधि खुवाउने गरिएको छ ।  सुरुमा शरीर पहेँलो हुँदै जान थालेपछि राजवंशी परिवारले जन्डिसको उपचार गरेको थियो । तर, ठिक नभएपछि स्वास्थ्य जाँच गर्दा अनिमेषको शरीरमा रगत उत्पादन नहुने समस्या पत्ता लागेको हो ।

समस्या पहिचान भएयता दुई वर्षदेखि अनिमेषलाई ‘ए’ पोजेटिभ समूहको रगत दिइँदै आएको छ । चतुर स्वभावका अनिमेष अर्काले दिएको रगतको भरमा बाँचिरहेका छन् ।  अनिमेषको उपचारका लागि आर्थिक सहयोग गरिदिन संस्थाका अध्यक्ष न्यौपाने र सचिव द्यौरालीले बालबालिकाको क्षेत्रमा कार्यरत सङ्घसंस्था र सरकारी निकायलाई अपिल पनि गरेका छन् ।

सम्बन्धित समाचार