जब सडकमा मास्क लिएर झापाका सिडिओसहितको टोली पुगे....
झापा । नेपालमा दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको कारण सर्वत्र त्रास बढिरहेको अवस्थामा भारतसँग सीमा जोडिएका जिल्लाहरूमा झन् धेरै जोखिम बढेको छ । त्यस्तै भारतसँग सीमा जोडिएको नेपालको एक जिल्ला झापामा पनि दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि झापामा प्रशासनले सतर्कता अपनाउन सुरु गरेको छ ।
मङ्गलवार बिर्तामोडमा झापाका प्रशासन प्रमुखहरूले बजार अनुगमन गरेका छन् । अनुगमनमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कुमार भट्टराई लगायतले मास्क नलगाउने व्यापारी र सर्वसाधारणहरूलाई मास्क लगाउन आग्रह गर्दै मास्क वितरण गरेका थिए ।
बिर्तामोड बजारको विभिन्न स्थानमा जनपथ र ट्राफिक प्रहरीहरूले चेतना मूलक प्लेकार्ड देखाउँदै मास्क नलगाई सवारी चलाउने चालक, सहचालक, यात्रीहरूलाई मास्क वितरण गरेका थिए ।
अनुगमनका क्रममा मास्क भनेको के हो भनेर प्रश्न गर्नेहरू पनि भेटिएका थिए । बुद्धिजीवी देखिने युवा पुस्ताहरूले पनि मास्क नलगाई हिँडेको देखेपछि प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले मास्क लगाउनुहोस् भन्दै मास्क दिँदै ‘आज मास्क दिएर सम्झाउँछौँ भोलिदेखि कारबाही र जरिवाना हुने छ’ भन्दै सर्वसाधारणलाई सुझाएका थिए । प्रमुख जिल्ला अधिकारीले मास्क लगाउन गरेको आग्रहका कारण युवाहरू लजाएर भुतुक्कै हुँदै प्रजिअ तिमिल्सिनाले दिएको मास्क लगाउँदै आफ्नो गन्तव्य तर्फ लागेका थिए ।
बजारमा देखिएका सर्वसाधारणले प्राय मास्क लगाएर हिडेको पाइएको थियो । एक घण्टा गरिएको अनुगमनमा करिब ९० प्रतिशतले मास्क प्रयोग गरेको पाइएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।