२०८३ बैशाख ४ गते , शुक्रबार
हल्दिबारी गाउँपालिकामा अति आवश्यक कामबाहेक सबै सेवा बन्द
झापा । झापाको हल्दिबारी गाउँपालिकासहित सबै वडा कार्यालयहरूमा अति आवश्यक कामबाहेक सबै सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि तीन दिनका लागि अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए ।
उनका अनुसार भोलि शुक्रवारदेखि आइतबारसम्म सबै सेवा बन्द गर्ने निर्णय भएको हो । साथै बिहीबार बसेको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकाभित्र लाग्ने साप्ताहिक हाटबजार समेत बन्द गर्ने निर्णय गरेको छ। कोरोना महामारीका बेला बजारमा कालोबजारी गर्नेलाई पसललाई कारबाही गर्ने समेत बैठकले निर्णय गरेको जनाइएको छ । गाउँपालिकाले अनिवार्य मास्कको प्रयोग गर्नुका साथै सरकारले जारी गरेको निर्देशन बमोजिम हिनडुल गर्ने गाउँवासीलाई अपिल पनि गरेको छ ।