मङ्गल सेवा समितिद्वारा भद्रपुरका तीन जना मजदुरलाई सम्मान
झापा । भद्रपुरमा १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस र मङ्गल स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । मङ्गल सेवा समिति भद्रपुरले श्री कृष्ण द्वैपायन गुरुकुल बेदविद्या आश्रममा शनिवार आयोजना गरेको कार्यक्रममा तीन जना मजदुरलाई नगदसहित सम्मान गरेको छ ।
सम्मानित हुने मातृ शिशु स्याहारसुसार (धाई आमा) र गृहिणीको सहयोगी भई लामो समयदेखि मानवीय सेवामा योगदान पुर्याएकी भद्रपुरकी राधा साहनी, भद्रपुरकी पहिलो सिटी सफारी चालक कल्पना सरकार (मण्डल) र लामो समय नगरको स्वच्छ वातावरण सरसफाइ कार्यमा योगदान पुर्याएका भद्रपुरका बतासु हरिजन रहेका छन् । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र, नगद २१ सयको दरले सम्मान गरिएको थियो ।
मंगल् बौद्धिक पार्कका संयोजक तथा समितिका सदस्य अजय साहेवालाको अध्यक्षता तथा भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गुरुकुलका अध्यक्ष रेमनाथ चुँडाल, सदस्य आमोद राजवंशी, गुरु महेन्द्र भट्टराई, मङ्गल सेवा समितिका सदस्य तथा पूर्व प्राध्यापक होम सुबेदी, समितिका सदस्य हरि ॐ जी लायन्स क्लब भद्रपुरका कोषाध्यक्ष उत्तम कुमार राजवंशी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको औचित्यमाथि कार्यक्रमका संयोजक गोपाल दास खनालले प्रकाश परेको कार्यक्रमको सञ्चालन बौद्धिक पार्कका सचिव शिव कुमार राजभण्डारीले गरेका थिए । समितिले कृष्ण द्वैपायन गुरुकुल वेद विद्या आश्रममा एक लाख ५० हजारको अक्षयकोषको स्थापना गरेको र सोही रकमको ब्याजबाट प्रत्येक वर्ष मजदुरहरूलाई सम्मान गर्दै आइरहेको छ ।