मजदुर दिवस : ट्रेड युनियन महासङ्घद्वारा बिर्तामोडमा मास्क, स्यानिटाइजर र पर्चा वितरण
झापा । अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले १३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना भाइरस महामारी फेरि फैलिरहेकोले महासङ्घले मास्क, स्यानिटाइजर र पर्चा वितरण गरेको हो । युनियनले बिर्तामोडको मुक्ति चोकबाट पैदल यात्री, अटो, मोटरसाइकलमा सवार, पसलमा पुगेर शनिवार स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
मजदुर दिवसको शुभकामनासहित २ हजार मास्क, २ हजार पर्चा वितरण गरिएको महासंघ झापा अध्यक्ष सीता सापकोटा सन्ध्याले बताइन् । कार्यक्रममा महासङ्घका प्रदेश नं. १ इन्चार्ज भूपाल सापकोटा, श्रम तथा रोजगार विभाग झापा संयोजक डण्डी घिमिरे विवेक, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य लक्ष्मी न्यौपाने सरुसहितको सहभागिता रहेको थियो ।
महासङ्घले वितरण गरेको पर्चामा मास्क अनिवार्य प्रयोग गरौँ, साबुन पानीले वेला वेलामा राम्रोसँग हात धुने, कोभिडको लक्षण देखिएका परीक्षण गराउने र क्वारेनटाइनमा बस्ने, सामाजिक दुरी कायम गर्ने, भिडभाडबाट बच्ने, अति आवश्यक काम बाहेक घरबाट बाहिर नजाने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत रहेका छन् ।