२०८३ बैशाख २४ गते , विहीबार

पाँचथरको तुम्बेवा गाउँपालिकामा मालपोतको घुम्ती शिविर, गाउँवासी लाभान्वित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २० गते , सोमबार
पाँचथरको तुम्बेवा गाउँपालिकामा मालपोतको घुम्ती शिविर, गाउँवासी लाभान्वित

फिदिम । जिल्ला मालपोत कार्यालय पाँचथरले हालै जिल्लाका दुर्गम भेगमा पुगेर सञ्चालन गरेको जग्गा प्रशासन सम्बन्धी घुम्ती सेवाबाट त्यहाँका नागरिक लाभान्वित भएका छन् ।  सो पहाडी जिल्लामा त्यस्तो सेवा एउटा नौलो प्रयोग रहेको हाम्रा सहयोगीले जनाएका छन् । कार्यालयले गत चैत २४ गतेदेखि एक साता सम्म तुम्बेवा गाउँपालिकामा घुम्ती सेवा प्रदान गरेको हो ।

 घुम्ती सेवाको सुरुवात नै तुम्बेवा गाउँपालिकाबाट गरिएको थियो । तुम्बेवा गाउँपालिकाबाट १ वर्षमा १०–१२ जना सेवाग्राही बाहेक मालपोत कार्यालय पुग्ने गरेका थिएनन् । तर, यस पटक उक्त गाउँपालिकामा मालपोतको टोलीले प्रत्यक्ष रूपमा १ सयभन्दा बढी नागरिकलाई जग्गा सम्बन्धी सेवा प्रदान गरेको जनाइएको छ । सदरमुकाम टाढा भएकाले पनि जग्गाको लिखत कारोबार कम भएको हुनसक्ने आकलन गरिएको छ । सो घुम्ती सेवाबाट सेवाग्राहीलाई अंशबन्डा, बकस पत्र, राजीनामा, दृष्टि बन्दकी, भोग बन्धकी जस्ता लिखत पारित गर्ने तथा नामसारी, दाखा लगायतका सेवा स्थानीय स्तरमा प्रदान गरिएको छ । 

घरजग्गाको रोक्का, फुकुवा, संशोधन र नामसारी गर्न अन्यको तुलनामा वृद्धवुद्धा, अपाङ्ग, अशक्त र महिलालाई गाह्रो हुने भएकाले उक्त सेवा सुरु गरिएको कार्यालय–प्रमुख बाबुराम पोखरेलले जानकारी दिए । सो क्रममा सेवाग्राहीको जटिलतम कारोबार धेरै वर्षदेखि बाँकी रहेको पाइएको उनले बताए ।  तथापि सो घुम्ती सेवामा नापी कार्यालयले सहभागिता नजनाएका कारण कतिपय सेवाग्राहीको काम शतप्रतिशत सम्पन्न हुन नसकेको हाम्रा सहयोगीले जनाएका छन् । ‘जग्गा सम्बन्धी सम्पूर्ण कार्यहरू मालपोत कार्यालयमा हुने गर्दछ । तर, सबैले मालपोत कार्यालयसम्म पुगेर सेवा लिन नसक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले गाउँपालिकामै गएर सेवा प्रदान गरेको हो’ कार्यालय–प्रमुख पोखरेलले भने ।

हालसम्म देशका कुनै पनि मालपोत कार्यालयले गाउँपालिका क्षेत्रमै गएर कुनै पनि सेवा प्रदान गरेको छैन । तर, मालपोत कार्यालय–पाँचथरले भने देशमै पहिलो पटक घुम्ती सेवा प्रदान गरी सेवाग्राहीलाई सहज बनाएको हो ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागको स्वीकृतिपछि पाँचथर मालपोत कार्यालयले घुम्ती सेवाको लागि अग्रसरता लिएको बताउने कार्यालय–प्रमुख पोखरेल भन्छन्– ‘आगामी दिनमा पाँचथरका अन्य ६ वटा गाउँपालिकामा समेत यस्तो घुम्ती सेवा प्रदान गर्ने योजना छ ।’

जसमा पाँचथर मालपोत कार्यालयको टोलीले मिक्लाजुङ गाउँपालिकामा वैशाख ३ देखि ८ गतेसम्म सञ्चालन गरेको घुम्ती सेवामा जग्गा प्रशासन सम्बन्धी परामर्श सेवा करिब १ हजार जनाले लिएको जनाइएको छ । चालू आर्थिक वर्षभित्रै अब जिल्लाको फाल्गुननन्द गाउँपालिकामा वैशाख २५ देखि ३१ गतेसम्म, फालेलुई गाउँपालिकामा जेठ २ बाट १४ गतेसम्म, कुम्मायक गाउँपालिकामा जेठ २२ देखि २८ गतेसम्म, याडवरक गाउँपालिकामा असार ५ देखि ११ गतेसम्म र हिलिहाङ गाउँपालिकामा असार १९ देखि २५ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सेवाग्राही उत्साहित

देशमै पहिलोपटक मालपोत घुम्ती सेवा प्रदान गर्दा सेवाग्राही निकै उत्साहित भएको प्रमुख पोखरेल बताउँछन् । कार्यालयमा हुँदा दैनिक लगभग ५० बढी सेवा प्रवाह गर्दै आएकोमा घुम्ती शिविरमा एउटा गाउँपालिकामै दैनिक ५० भन्दा बढी सेवाग्राही आएका उनको कथन छ ।  देशभरकै सेवाग्राहीमा मालपोत कार्यालयको राम्रो छाप छैन । त्यसैले मालपोत कार्यालयले आफ्नो छवि सुधार्नका लागि पनि नागरिकको घर–आँगनमै सेवा दिँदै गएपछि छविलाई सुधार गर्न सकिने कार्यालय–प्रमुख पोखरेलको विश्वास छ ।

सम्बन्धित समाचार