मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिकामा कार्यरत कर्मचारीको मृत्यु
झापा । मोटरसाइकलको ठक्करबाट झापामा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय दीपक नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । नेपाल बुद्ध शान्ति गाउँपालिकामा कार्यरत सहायक स्तर चौथो तहका कर्मचारी थिए ।
प्रहरीका अनुसार बुद्धशान्ति १ शान्ति चौकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको होन्डा कम्पनीको मोटरसाइकलले शुक्रवार राती साढे ८ बजेको समयमा सडकमा हिडिरहेका नेपाललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भिर चोट लागेका उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याएको र उनको उपचारको क्रममा राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने नम्बर नखुलेको मोटरसाइकलको खोजी कार्य भइरहेको डिएसपी थापाले बताए ।