सङ्क्रमितले झापाका सरकारी तथा निजी अस्पताल भरिन थाले, बिरामीले बेड नपाउने खतरा बढ्दै
झापा । झापाका सरकारी तथा निजी अस्पतालले कोरोना सङ्क्रमितका लागि छुट्याएको बेडहरु भरिन थालेका छन् । मेची अञ्चल अस्पतालमा सय बेड कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याइएकोमा २५ बेडको आइसीयु तथा एचडीयु भरिएको छ ।
नयाँ भवनमा सञ्चालित कोभिड अस्पतालको ७५ बेडको आइसोलेसनमध्ये ५० बेड भरिएको छ । २५ बेड मात्र खाली छन् । वीएन्डसी हस्पिटलमा २५ बेडको आइसीयू तथा भेन्टिलेटर र ७५ बेडको आइसोलेसन वार्ड कोरोना सङ्क्रमितका लागि छुट्याइएको छ ।
त्यहाँ पनि अधिकांश बेड भरिएका छन् । काठमाडौं र पश्चिम नेपालतिर आइसीयु सुविधा नपाएर हवाइजहाजबाट बेडसिफ्ट गरी विरामी आउने क्रम बढेपछि बीएन्डसीका बेडहरुमा चाप बढेको पाइएको छ ।
मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० शैय्या र विर्तासिटी अस्पतालमा २५ शैय्याको कोभिड उपचार कक्ष रहेको छ । मनमोहनमा विरामी उपचारार्थ भर्ना भएका छैनन् भने बिर्तासिटीको कोरोना आरक्षित बेड भरिएका छन् ।
यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले झापा जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालहरुको अनुगमन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले निजी तथा सरकारी अस्पतालहरुको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरुको उपचार अवस्थाको बारेमा जानकारी लिइएको बताए ।
झापामा ४०० आइसोलेसन कक्षको व्यवस्था रहेको उनले बताए । प्रजिअ तिम्सिनाले झापाका १५ वटा स्थानीय तहले पाँचदेखि ५० बेडसम्मका कोभिड ओइसोलेसन कक्षहरु स्थापना गरेको हुँदा तत्काल जिल्लामा सङ्क्रमितका लागि बेडको अभाव नरहेको बताए ।
उनले अनुगमनका क्रममा निजी अस्पतालहरुलाई आवश्यकता अनुसार अक्सिजनसहितका बेड थप गरी सङ्कटका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको बताए । मेची कोभिड अस्पतालमा भने जनशक्तिको अभाव रहेको उनको भनाई छ । “मेचीमा जनशक्ति अभाव छ”, उनले भने, “प्रदेश सरकारलाई जनशक्ति थपका लागि माग गरेका छौं, जिल्लामा सकेसम्म जनशक्तिदेखि स्वाथ्यकर्मीलाई चाहिने सुरक्षण सामग्रीमा कुनै अभाव हुन दिँदैनौं ।”
जिल्लामा सङ्क्रमणको दर उच्च रहेको हुँदा समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको उनको भनाई छ ।