भारतमा देखा परेका नयाँ भेरिएन्टको कोरोना विश्वको लागि खतरनाक
एजेन्सी । भारतमा देखिएको नयाँ भेरिएन्टको कोरोना भाइरस सबैभन्दा सङ्क्रामक हुन सक्ने अध्ययनले बताएको छ । बेल्जियमको एक युनिभर्सिटीको एक समूहले यस विषयको खुलासा गरेको हो ।
यही समूहले पहिला बेलायतको भाइरस खतरनाक भएको बताएको थियो । प्रारम्भमा विश्वास नगरे पनि पछि सोही कुरा प्रमाणित भयो । भारतको नयाँ प्रकारको भाइरस धेरै नै सङ्क्रामक छ । यसको फैलिने दर तीव्र छ । साथै रूप परिवर्तन गर्ने क्षमता समेत पहिला बेलायतमा भेटिएको भाइरसको झैँ छ । यही प्रकारको भाइरसले भारतमा महामारीको रूप लिएको छ । राजनीतिक भेला, र्याली, भिडभाडमा फैलिँदै यसले भारतमा भयावह स्थिति सिर्जना भएको छ । केही महिना अघिसम्म भारतमा कोरोनाको प्रभाव घट्दो थियो । सङ्क्रमण दर समेत कम हुँदै थियो ।
यहीबिच फेब्रुअरीको अन्त्य देखि मार्चको सुरुवाती दिनमा यसको प्रभाव ह्वात्तै बढ्यो । प्रत्येक दिन ४ लाखको सङ्ख्यामा सङ्क्रमित बढेका छन् भने दैनिक ४ हजारको आसपासमा मृत्यु भई रहेको छ । तर डब्ल्युएचओले भने स्वास्थ्यमाथि गरिएको खेलाँचीले यो स्थिति आएको बताएको छ । न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउनु नै यसको मुख्य कारण रहेको उनीहरूको तर्क छ ।
त्यस्तै युनिसेफका एक प्रतिनिधिले भारतमा कोरोना नियन्त्रणमा आउन बर्सौँ लाग्न सक्ने बताएका छन् । भारतमा शिक्षाको निम्न स्तरका कारण नै यो समय लम्बिने उनको दाबी छ । मानिसहरूमा चेतना विकास नभएसम्म नियन्त्रणमा समस्या हुने उनको आङ्कलन छ । संयुक्त राष्ट्रले भारतलाई सावधान रहन चेतावनी दिएको छ । पहिलो लहरमा अमेरिका र युरोपमा फैलेकै दरमा भारतमा अहिले भाइरस फैलिरहेको छ ।
तर यसको कारण जनघनत्व समेत हुन सक्ने सम्भावना छ । भारतमा हाल फैलिएको करोना भाइरसको प्रकृति कस्तो अनुमान लगाउन गाह्रो छ । त्यसैले समेत सावधानी जरुरी छ ।