२०८३ बैशाख ३ गते , विहीबार

काम गरेको पैसा माग्दा विवाद, मजदुरले गरे निर्माण व्यवसायीको हत्या

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १ गते , शनिबार
काम गरेको पैसा माग्दा विवाद, मजदुरले गरे निर्माण व्यवसायीको हत्या

झापा । मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ। लेटाङ ३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका ३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ।

हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन्। रोमन निर्माण व्यवसायी हुन्। काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लेटाङकै त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका हुन्।

प्रहरीका अनुसार हत्या गरिएका युवा लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे। ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम गर्थे। पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको राति १०स्३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सेतोपाटीलाई बताए। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ।

उनीहरूलाई रोमनले नै निर्माण सामाग्री ढुवानीको काममा लगाउने गरेका थिए। काममा लगाएको पैसा नदिएको विषयलाई लिएर बढेको विवाद हत्यामा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सेतोपाटीबाट

सम्बन्धित समाचार