भरुवा बन्दुकसहित चार सिकारी पक्राउ
खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ स्थित राजापानीबाट भरुवा बन्दुक र बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिक रहेका छन् । गत राती १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका टोलीले डम्बर, द्रोण र रबिन्द्रलाई तीन थान भरुवा बन्दुक , मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका पदार्थहरू सहित नियन्त्रणमा लिएको छ ।
भने बिकलाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको वट थान १ लगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरू सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको छ ।