सेनाद्वारा झापा, मोरङ र सुनसरीका ४३ स्काउटरलाई शव व्यवस्थापन तालिम
झापा । कोरोना सङ्क्रमितको शव व्यवस्थापन कार्यलाई थप चुस्त र दुरुस्त बनाउन नेपाली सेनाले प्रदेश १ का स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिरहेको छ ।
नेपाली सेनाले प्रदेश १ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका ४३ जना स्काउटरलाई सङ्क्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिइरहेको छ । सेनाले झापाको भद्रपुरमा १७ जना, मोरङको विराटनगरमा १४ जना र सुनसरीको इटहरीमा १२ जना स्काउटरलाई तालिम दिइरहेको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य अरुण बस्नेतले जानकारी दिए ।
अहिले मुलुकभर नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै आइरहेको छ । नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिको निर्णय बमोजिम सेनालाई शव व्यवस्थापन कार्यमा सघाउन थप जनशक्तिको लागि तिनै जिल्लामा चार दिवसीय तालिम दिन सुरु गरिएको श्री नयाँ श्रीनाथ गण गणपति अमर जङ्ग थापाले जानकारी दिए । 'स्काउट समाजको एउटा अभिन्न अङ्ग हो, जनतालाई दुःख परेको बेला साथी बनेर सहयोग गर्ने उद्देश्य राखेर उनीहरू यस तालिममा सहभागी बन्न आएको हो,' गणपति थापाले भने, 'सहभागीलाई सङ्क्रमितको शवलाई कानुनी, व्यवाहरीक र धार्मिक रुपमा कसरी व्यवस्थापन गर्नुपर्छ, साथसाथै कोरोनाबाट आफू जोगिएर कसरी कार्य सम्पादन गर्नुपर्छ र के कस्तो स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाउनु पर्छ भन्ने विषयमा प्रशिक्षण दिइरहेका छौँ ।'
झापाको भद्रपुरमा बुधवारदेखि सुरु भएको तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट तीन महिलासहित १७ जना स्काउटरहरु सहभागी भएका छन् । एकै पटक धेरै सङ्क्रमितको मृत्यु पश्चात् सेनालाई पनि शव व्यवस्थापनमा समस्या परिरहेका कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई तालिममा सहभागी गराएको र उनीहरूलाई पनि आवश्यकता अनुसार आगामी दिनमा जिल्लाका विभिन्न क्षेत्रमा शव व्यवस्थापनमा खटाइने तदर्थ समितिका सदस्य बस्नेतको भनाई छ ।
आइतबारदेखि भद्रपुरमा सुरु भएको तालिममा श्री नयाँ श्रीनाथ गणका गणपति श्री अमर जङ्ग थापाले सिसिएमसी, डिसिएमसी, स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाको भूमिकाबारे सहभागीलाई जानकारी गराएका थिए । नेपाली सेनाका तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डा। समीर पुडासैनीले कोरोनाका बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने प्राथमिक तथा गहन विषयहरूमा जानकारी दिइरहेका छन् ।