एम्बुलेन्समा लागु औषध ओसारपसार, गाँजासहित दुई जना पक्राउ
धरान । एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा एम्बुलेन्स चालकसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले सोमबार साँझ ७ बजे धरान २ बाट उनीहरूलाई पक्राउ गरेको हो। भेडेटारबाट धरान आउँदै गरेको को १ च ५५५९ नम्बरको हुडेप नेपालको एम्बुलेन्समा २५र२५ केजीको प्याक भएका चार पोका गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले चेकजाँचको क्रममा एम्बुलेन्समा गाँजा फेला पारेपछि एम्बुलेन्सका चालक र एम्बुलेन्समै रहेका अर्का एक युवालाई नियन्त्रणमा लिएको छ। एम्बुलेन्सका चालक धरान १५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु रहेको र अर्का व्यक्ति धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं १ घर भएका हाल धरान ११ बस्ने २८ वर्षका पोषण राई रहेको प्रहरीले जनकारी दिएको छ। उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरान थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।