संसद् विघटनविरुद्ध प्रधानमन्त्रीको गृह जिल्लामा सशक्त आन्दोलनको तयारी
झापा । दोस्रो पटक संसद् विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सशक्त आन्दोलनको तयारी गरिदैँछ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गुटगत षडयन्त्रको सिकार बनेको संसद् पुर्नस्थापनासँगै देश र जनताको विरुद्ध भएको यो जघन्य अपराधको विरोधमा फेरि एक पटक आन्दोलित हुन झापाका राजनीतिक दलहरूले संयुक्त विज्ञप्तिमार्फत यस्तो आव्हान गरेका छन् ।
बिर्तामोडमा आज बसेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्रसहित झापाका ९ वटा राजनैतिक दलका प्रतिनिधिहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरूको रक्षाका खातिर आन्दोलनको अग्र मोर्चामा रहेर विगतका दिनहरूमा जस्तै सशक्त भूमिका निर्वाह गर्न झापाली जनतालाई आह्वान गरेका हुन् ।
संसद्को पुर्नस्थापनाका लागि पुनः आन्दोलनमा जानुको विकल्प नरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता र समावेशितालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई विग्रह र विखण्डनको बाटोमा लैजाने षडयन्त्रको पर्दाफास गर्दै संयुक्त जनआन्दोलनका कार्यक्रमहरू अघि बढाउन अब ढिला गर्न हुँदैन ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट आउन लाग्यो, देश महामारीको चपेटामा छ । जनता घरबाहिर निस्कने अवस्था छैन । यस्तो अवस्थामा चुनावलाई बहाना बनाएर निरङ्कुश, अधिनायकवादी शासन लादने प्रधानमन्त्री र राष्ट्रपति षडयन्त्रलाई जनताकाबिच भण्डाफोर गर्न सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनु आजको आवश्यकता हो ।
बैठकमा काँग्रेसका झापा सभापति उद्धव थापा, माओवादी केन्द्रका सचिव मणिकुमार साम्पाङ, माधव–नेपाल पक्षका एमालेका अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टीका दिपेनवाला राई, बहुल राष्ट्रिय मोर्चाका सन्जुहाङ पालुङ्वा , सङ्घीय लिम्बुवान मञ्चका धनबहादुर पन्धाक, विवेकशील साझा पार्टीका मेदनी प्रसाईँ, राष्ट्रिय जनमोर्चाका सन्तोष राई र राष्ट्रिय जनमुक्ति पार्टीका प्रकाश थम्देनले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।