भद्रपुरका राजनैतिक दलहरूको संयुक्त आह्वान : प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध एकजुट बनौँ
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध एकजुट बन्न भद्रपुरका राजनैतिक दलहरूको संयुक्त आह्वान गरेको छ ।
संयुक्त विज्ञप्ति जस्ताको त्यस्तै :
प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा आए देखिनै लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र नैतिकता विपरीतका कार्य गर्दै आएको सर्वविदितै छ । नक्कली राष्ट्रवादको आडमा देश र जनतालाई झुक्याउँधै आएको ओलीले एक पछि अर्को लोकतन्त्र विरोधी, राष्ट्रिय घाती कार्य गर्दै आएका छन् । यसै क्रममा प्र।म। ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको षड्यन्त्रबाट २०७८ साल जेठ ७ गते मध्य राति जननिर्वाचित प्रतिनिधि सभा विगठन गरेर संविधानको ठाडो उल्लङ्घन गरेका छन् । नेपाली जनताको बलिदानबाट प्राप्त संविधानको मर्म भावना समेतलाई अवमूल्यन गरी जाल–झेल र किर्ते गरी मध्य रातमा संसद् विगठन गरिएको घटना प्रति लोकतन्त्रमा आशा, भरोसा र विश्वास राख्ने हामी ४ राजनैतिक दलहरू घोर निन्दा र भर्त्सना गर्दछौँ ।
आफूसँग बहुमत नरहेको र विश्वासको मत समेत लिन सक्ने आधार नदेखिएकाले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरे भनी पत्रकार सम्मेलन बोलाउने अनि आधा घण्टा पछि म सँग बहुमतको सरकार बनाउने आधार छ भनी राष्ट्रपतिकोमा दाबी पेस गर्नु यो भन्दा निर्लज्जता के हुन सक्छ । ओलीद्वारा मुलुकलाई जटिल र गम्भीर राजनैतिक सङ्कट र दुर्घटना तिर धकेल्ने आपराधिक षड्यन्त्रको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ । मुलुकमा भएको जनप्रतिनिधि मूलक संस्था विगठन गरी अध्यादेश मार्फत सदनमा छलफलमा रहेको नागरिकता विधेयक, गुठी विधेयक, दल विभाजन सम्बन्धी विधेयक, संवैधानिक परिषद् नियुक्ति विधेयकहरू सहितबाट देश सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्र निर्माणको सम्भावना पुरा हुन सक्दैन भन्ने हाम्रो ठहर छ ।
प्र।म। ओली र राष्ट्रपति भण्डारीको गुटगत षड्यन्त्रको सिकार भएको प्रतिनिधि सभा पुनः स्थापनाका लागि पुनः आन्दोलनमा जानुको विकल्प छैन, देश र जनाताका विरुद्धमा भएको यो जघन्य अपराधको विरुद्धमा फेरी एक पटक नेपाली जनताहरूलाई आन्दोलनका लागि अपिल गर्नु परेको छ । कोरोना महामारी बिच भ्याक्सिन किन्न नसकेको सरकारले अरबौँ खर्च गरी जनतालाई मृत्युको मुखमा धकेली चुनाव हुने अवस्था छैन । देश महामारीको चपेटामा छ । जनता घरबाट बाहिर निस्कने अवस्था छैन । यस्तो अवस्थामा चुनावलाई वाहाना बनाइ निरङ्कुश अधिनायकवादी शासन लाद्ने प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिगमन र षड्यन्त्रलाई जनताको बिचमा भण्डाफोर गर्न सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनु आजको मूल आवश्यकता हो ।
महान् नेपाली जनताको अपार सहभागिता र वीर शहीदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता र समावेशितालाई समाप्त पारी संविधानलाई असफल पारेर राष्ट्रियलाई विग्रह र विखण्डनको बाटोमा लैजाने राष्ट्रपति पनि पदीय मर्यादाबाट विमुख भई के।पी। ओलीको षड्यन्त्रको वैचारिक पर्दाफास गर्दै असंवैधानिक कदमको विरुद्ध एक जुट हुन आह्वान गर्दछौँ । निषेधाज्ञाको समयमा आर्थिक अवस्था कमजोर भएका, ज्याला मजदुरका परिवारहरूलाई तुरुन्त राहत वितरण गर्न तीनै तहका सरकारसँग जोडदार माग गर्दछौँ साथै राहत सहयोगका लागि सम्पूर्ण सहयोगी मनहरूलाई आह्वान गर्दछौँ । लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिको रक्षाका लागि आन्दोलनको अग्र मोर्चामा रहेर विगतका दिनहरूमा जस्तै सशक्त भूमिका निर्वाह गर्न हामी सम्पूर्ण नागरिक समाज, पत्रकार, मानवअधिकार कर्मी, मजदुर, किसान, युवा, विद्यार्थी, प्राध्यापक, शिक्षक, कानुन व्यवसायी, उद्योगी, व्यवसायी, विभिन्न पेसा कर्मी लगायत सम्पूर्ण न्याय प्रेमी भद्रपुरवासी आम जनसमुदायहरूमा हार्दिक अपिल गर्दछौँ ।
सभापति : मोहन महर्जन, उप–सभापति : ज्ञानबहादुर चौहान नेपाली काँग्रेस, भद्रपुर
अध्यक्ष : शिवकुमार राजभण्डारी, सह–इन्चार्ज : नरेश सन्जेल नेकपा (माओवादी केन्द्र) भद्रपुर
अध्यक्ष : लोकनाथ भट्टराई, इन्चार्ज : पदम लिम्बु (एमाले) समानान्तर कमिटी भद्रपुर
अध्यक्ष : शत्रुघन चौधरी, इन्चार्ज : शर्मिला आङ्गदम्वे फेवादिन, जनता समाजवादी पार्टी भद्रपुर