साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला प्रतिबन्ध
झापा । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ को प्रारम्भदेखि देशभर प्लास्टिकको झोलाको प्रयोगमा रोक लगाएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले २०७८ साउन १ गतेदेखि लागू हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा प्लास्टिकजन्य पदार्थबाट हुने प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको उल्लेख छ ।
सपिङकमल डिपार्टमेन्ट स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लास्टिकको झोलाको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पार्टपुर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पूजीँगत अनुदान उत्पादन गराइने व्यवस्था समेत आगामी आर्थिक वर्ष २०७८-०७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख गरिएको विज्ञप्तिमा जनाइएको छ ।
विभागले आगामी आर्थिक वर्ष २०७८-०७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख गरिएको हुँदा सोही बमोजिम गर्न गराउन सबै प्रकारका उत्पादक, वितरक विक्रेता तथा सर्वसाधारणलाई जानकारी गराइएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८-०७९ को बजेटको वातावरण संरक्षणमा शीर्षकमा समेत यसलाई समावेश गरिएको छ ।