२०८३ बैशाख ९ गते , बुधबार

कोरोनाले तीन सातायताकै कम मृत्यु, थपिए ६ हजार ८५ संक्रमित 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १८ गते , मंगलबार
कोरोनाले तीन सातायताकै कम मृत्यु, थपिए ६ हजार ८५ संक्रमित 

काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ह्वात्तै घटेको छ ।  गत २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तीन सातायताकै कम मृत्यु भएको हो।  यसअघि गत बैशाख २५ गते शनिबार ५३ जनाको मृत्यु भएको थियो। जेठ ५ गते सबैभन्दा धेरै २ सय ४६ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 

यसअघि सोमबार १ सय १४, आइतबार १ सय ९ र शनिबार १ सय १६ जनाको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार १ सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ।

१७ हजार १ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।  यो अवधिमा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ रहेको छ । जसमध्ये ९७ हजार ७ सय ४ जना होम आइसोलेसन र ७ हजार ८५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।  मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ९१ जनाको आइसियु र ४ सय ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

सम्बन्धित समाचार