वडा सदस्यको निधनले भद्रपुरमा आज शोक बिदा
झापा । भद्रपुर नगरपालिकाले आज (बिहीबार) शोक बिदा दिएको छ । बुधवार दिउँसो भद्रपुर ८ नम्बर वडा सदस्य ५२ वर्षीय इन्द्रसिंह राजवंशीको कोरोना सङ्क्रमणबाट निधन भएकोले नगरपालिकाले शोक बिदा दिएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकासहित सबै वडा कार्यालयको सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड सम्बन्धी आवश्यक कामकाज र वारुणयन्त्र सञ्चालन रहने जनाइएको छ । वडा सदस्य राजवंशी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । ज्वरो र रुघाखोकी लगाएपछि राजवंशी आफै जेठ ७ गते कोरोनाको पीसीआर परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर गएका थिए । जेठ ९ गते आएको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो ।
सुरुमा सामान्य वार्डमा उपचाररत राजवंशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको थियो । उनको सोही अस्पतालमा बुधवार दिउँसो २ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।