भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, २४ घण्टामा थपिए ५४ हजार
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार ३९३ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १६औँ दिन हो ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ४९ हजार ८४८ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन १ हजार १२९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९० हजार ६९१ पुगेको छ ।
योसँगै विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १७ करोड ९९ लाख ९ हजार नाघेको छ । अहिलेसम्म विश्वमा ३८ लाख ९७ हजार बढीको मृत्युु भएको छ । विश्वमा १६ करोड ४६ लाख ६६ हजार बढीले कोरोनालाई जितेका छन् ।