फेरि सर्वोच्चले दियो यस्तो अन्तरिम आदेश
झापा । सर्वोच्च अदालतले बहराइनका लागि नेपाली राजदूतमा सिफारिस भएका युवराज कार्कीलाई गरिएको सिफारिस कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको छ।
स्नातक तहसमेत पास नगरेकाले योग्यता नपुगेको भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले नियुक्तिको निर्णय कार्यान्वयन नगर्न भनेको हो। सरकारले भने मन्त्री भैसकेका व्यक्तिलाई स्नातक तह पास गरेको हुन नपर्ने भन्दै राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेको थियो। यही व्यवस्थाअनुसार झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य प्रशासन मन्त्री भएका कार्कीलाई वैशाख २५ मा सरकारले बहराइनको राजदुत नियुक्तिको लागि सिफारिस गरेको थियो।
अघिल्लो साता सर्वोच्च अदालतले मन्त्री भैसकेकालाई राजदूत बनाउँदा स्नातक पास गरेको हुन पर्ने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो । अधिवक्ता दीपकविक्रम कार्कीले राजदूतमा सिफारिस भएका कार्कीको योग्यता र दक्षतामा प्रश्न उठाउँदै रिट दिएका थिए।