२०८३ बैशाख ३ गते , विहीबार

न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुरका बाल शिक्षक र कर्मचारी आन्दोलित

sajilo news
पार्थ मण्डल
२०७८ असार १३ गते , आईतबार
न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुरका बाल शिक्षक र कर्मचारी आन्दोलित

झापा । सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरू आन्दोलित बनेका छन् ।

भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८-०७९ को बजेट, नीति तथा कार्यक्रममा बाल विकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार नपुर्‍याएको भन्दै नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरको नेतृत्वमा बाल शिक्षकहरू आन्दोलित बनेका हुन् ।  शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका १६ वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आज आइतबार शिक्षकहरूले अपिलमार्फत नगरपालिका र नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई लिखित रुपमा जानकारी गराएको र भोलि सोमबारदेखि असार १८ गतेसम्म नगरपालिकामा शान्तिपूर्ण धर्ना बस्ने कार्यक्रम रहेको बाल शिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन । आज हामीले नगरपालिकाकी उपमेयर चन्द्रामाया श्रेष्ठ र नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेललाई लिखित रुपमा ध्यानाकर्षण गरेको उनले बताइन् ।

शान्तिपूर्ण धर्ना पश्चात् पनि नगरपालिकाले बाल शिक्षक र कर्मचारी तलब नबढाए थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिइन् ।   सरकारले साउन १ गतेदेखि तोकेको न्यूनतम मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै नेपाल शिक्षक महासंघ, बाल शिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले गत जेठ २७ गते नगरपालिकाकालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो । तर, नगरपालिकाले नगर सभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षकको तलब ३ हजार र कर्मचारीको तलबका २ हजार बढाउने उल्लेख गरेको छ ।

सरकारले बाल शिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याएको र सम्बन्धित पालिकाले सात हजार थपेर न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाले बजेटमार्फत कार्यान्वयनमा नल्याउँदा आन्दोलनमा उत्रिनु परेको शिक्षक महासंघ नगर समितिका अध्यक्ष गणेश गिरीले जानकारी दिए ।

नगरभित्र ५७ जना बाल शिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना र प्रावि स्तरका कर्मचारी १५ जना रहेका छन् । नगरपालिकाले अहिले बाल शिक्षकलाई मासिक ७ हजार ५ सय, मावि स्तरका कर्मचारीलाई ११ हजार ५ सय, आधारभूत स्तरका कर्मचारीलाई ७ हजार ५ सय र प्रावि स्तरका कर्मचारीलाई ४ हजार ५ सय मासिक तलब दिँदै आएको छ ।

यता सरकारले तोके अनुसारको पारिश्रमिक भद्रपुरले नदिने बजेटमार्फत जानकारी गराइरहेको बेला जिल्लाका अन्य स्थानीय तहले भने बाल शिक्षक र कर्मचारीको तलब सरकारले तोके अनुसार दिने बजेटमा उल्लेख गरेको जनाइएको छ । 

सम्बन्धित समाचार