बिर्तामोडमा श्रृंखलाबद्ध चोरी : चोर्ने र सामान किन्ने आठ जना पक्राउ
झापा । बिर्तामोडमा श्रृंखलाबद्ध रुपमा चोरीका घटना बढिरहेको बेला झापा प्रहरीले चार जना चोरलाई पक्राउ गरेको छ । चोरीका सामान एलइडी टिभी र ग्यास सिलिन्डर खरिद गर्ने अन्य चार जनालाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
चोरी घटनामा संलग्न बिर्तामोड नगरपालिका ७ निवासी २४ वर्षीय जग्गु भन्ने दीपेश खवास, बिर्तामोड ३ निवासी २८ वर्षीय टेकन भण्डारी, उनका भाइ १८ वर्षीय विष्णु भण्डारी र सोही नगरपालिकाका १४ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
त्यस्तै उनीहरूबाट चोरीका सामान खरिद गर्ने बिर्तामोड ४ निवासी २९ वर्षीय गोपाल चिमरिया, बिर्तामोड ३ निवासी ३१ वर्षीय छोटु भन्ने मोहम्मद मियाँ, बिर्तामोड ४ निवासी २८ वर्षीय विक्की साह र बिर्तामोड ४ निवासी ४८ वर्षीय खगेन्द्र चापागाईँलाई पनि नियन्त्रणमा लिएको डिएसपी थापाले बताए । चिमरियाले दुई थान ग्यास सिलिन्डर, मियाँले एलइडी टिभी, साहले एलइडी टिभी र चापागाईँले एउटा ग्यास सिलिन्डर किनेको अनुसन्धानको क्रममा खुलेको उनले बताए ।
प्रहरीका अनुसार निषेधाज्ञाको मौका छोपी उनीहरूले गत जेठ २९ गते राती बिर्तामोड २ निवासी गङ्गा उप्रेतीको घरबाट वान्सा कम्पनीको ३२ इन्चको एउटा एलइडी टिभी र दुई वटा ग्यास सिलिन्डर, असार ४ गते राती बिर्तामोड ४ निवासी नारायण मुखियाको घरबाट सोनी कम्पनीको ३२ इन्चको एउटा एलइडी टिभी र असार ९ गते राती बिर्तामोड ४ निवासी राजन वास्केको एउटा ग्याँस सिलिन्डर लगायत सामान चोरी गरेका थिए । पक्राउ परेका उनीहरूलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाइएको छ ।