सिन्धुलीका युवक काँकडभिट्टामा ब्राउन सुगरसहित पक्राउ
झापा । सिन्धुली तीनपाटन गाउँपालिका–४ का २० वर्षीय नीरज खड्का झापाको काँकडभिट्टामा पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले प्रतिबन्धित १५ दशमलव २ सय मिलिग्राम ब्राउन सुगर फेला पारेको छ ।
खड्कालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) काँकडभिट्टा मातहतको मेचीनगर –६ मेची डाँडामा रहेको फरवार्ड पोस्टका सशस्त्र प्रहरी नायव निरीक्षक नारायणप्रसाद गौतम नेतृत्वको टोलीले सोमबार पक्राउ गरेको विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईले बताए ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा सीमा स्तम्भ ९०र१ स्थित दशगजा क्षेत्रबाट खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीले शङ्का लागि चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर ल्याएको १५ दशमलव २ सय ग्राम ब्राउन सुगरका दुई वटा पोका फेला पारेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए । प्रहरीले खड्काको साथबाट नगद नेपाली १ हजार ५ सय रुपैयाँ र कर्लस कम्पनीको सानो मोबाइल फोन समेत फेला पारेको जनाएको छ । लागूऔंषध सहित खड्कालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।