२०८३ बैशाख ३ गते , विहीबार

कचनकवलमा स्थानीयको विरोधपछि रोड डिभाइडरमा लगाएको गुणस्तरहीन फलामे रेलिङ गाउँपालिकाले हटायो

sajilo news
पार्थ मण्डल
२०७८ असार १४ गते , सोमबार
कचनकवलमा स्थानीयको विरोधपछि रोड डिभाइडरमा लगाएको गुणस्तरहीन फलामे रेलिङ गाउँपालिकाले हटायो

(पार्थ मण्डल) झापा । निर्माण कम्पनीले रोड डिभाइडरको रेलिङमा कमसल फलामे पाइप प्रयोग गरेको भन्दै स्थानीयको चर्को विरोधपछि कचनकवल गाउँपालिकाले सो रेलिङ हटाउन लगाएको छ। 

मेची राजमार्ग अन्तरगत चाराआली–केचना सडक खण्डको कचनकवल गाउँपालिका-६ स्थित बनियानी चोकमा बनाइएको रोड डिभाइडरमा निर्माण कम्पनीले गाउँपालिकाको इस्टिमेटभन्दा फरक (गुणस्तरहीन) रेलिङ लगाएको भन्दै स्थानीयले त्यसको चर्को विरोध गरेका थिए। 

गुणस्तरहीन रेलिङ लगाउँदै गरेको स्थानीयले फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका थिए। ६ नम्बर वडाध्यक्ष कुलबहादुर कार्कीले फेसबुकमा फोटो पोस्ट गर्दै बनियानीको डिभाइडरको रेलिङमा व्यापक भ्रष्टाचार हुनबाट रोक्न सफल हुँदै कमसल सामग्री खोल्न लगाइयो लेखेका छन्। निर्माण गरिएको रोड डिभाइडर उनकै वडामा पर्छ। 

यता स्थानीयको चर्को विरोधपछि डिभाइडरको आधा भागमा लगाइसकेको फलामे रेलिङ गाउँपालिकाको आदेशमा निर्माण कम्पनीले सोमबार बिहान हटाएको छ। रेलिङ हटाउनुअघि गाउँपालिका अध्यक्ष अञ्जार आलम र विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले समेत स्थलगत अनुगमन गरेका थिए।

चाराआली–केचना सडक खण्ड कालोपत्रे बनेपछि बनियानी चोकको सौन्दर्यतासँगै वान वे बनाउने आर्थिक वर्ष ०७५/०७६ मा १५ लाख बजेट विनियोजन गर्दै गाउँपालिकाले ६ सय मिटर रोड डिभाइडर निर्माण गरेका थिए। त्यसपछि सो डिभाइडरमा ५ लाख ४० हजार खर्च गरेर गाउँपालिकाले ६ वटा सोलार बत्ती पनि जडान गर्‍यो। 

डिभाइडरको कामलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा डिभाइडरको प्लास्टर र फिनिसिङ, फलामे रेलिङ, रंगरोगन, एउटा पानीको मोटर जडान, मल र माटो हाल्ने गरी एकमुष्ट ठेक्का आह्वान गरेको थियो। गाउँपालिकाले २०७७ माघ २८ गते सो ठेक्का १८ लाख ३३ हजार २५७ रुपैयाँमा खुलाएको गाउँपालिकाका योजना अधिकृत केशव मैनालीले जानकारी दिए। 

गाउँपालिकाले ठेक्का आह्वान गरेपछि एआरबी निर्माण सेवा धरमपुरले १२ लाख ५६ हजार २१० रुपैयाँ, गजबक्रम सापकोटा कन्स्ट्रक्सन कचनकवलले १५ लाख ५४ हजार ९८५ रुपैयाँ र मेरिडियन कन्स्ट्रक्सन बिर्तामोडले १५ लाख १९ हजार ५६० रुपैयाँ अंक तोकेर ठेक्का हालेका थिए।  

त्यसपछि ३२ प्रतिशत बिलो हालेका एआरबी निर्माण सेवा धरमपुरले सो कामको ठेक्का पाएको योजना अधिकृत मैनालीको भनाइ छ। तीन महिना समयावधि तोकिएको सो ठेक्का एआरबीसँग गाउँपालिकाले चैतमा सम्झौता गरेको गाउँपालिका इन्जिनियर अमित ढुङ्गानाले बताए।

रेलिङ बनाउँदा डेढ र एक इन्चको फलामे पाइप १२ देखि १३ केजीसम्मको क्षमताको हाल्नुपर्ने इस्टिमेटमा उल्लेख भएको उनले बताए। ‘तर निर्माण कम्पनीले बनाएर ल्याएको रेलिङको क्षमता ९ देखि ११ केजीसम्मको मात्र देखियो,’ इन्जिनियर ढुङ्गानाले भने, ‘इस्टिमेटभन्दा फरक क्षमताको रेलिङ बनाएर ल्याएको र आधा भागमा लगाइसकेकोले तत्काल निर्माण कम्पनीलाई खोल्न आदेश दियौं।’

त्यसपश्चात् कम्पनीका मान्छेले सो रेलिङ खोलेर लगेको उनले बताए। इस्टिमेटमा उल्लेख भएबमोजिम रेलिङ बनाएर लगाउन निर्माण व्यवसायी पवन खड्कालाई मौखिक आदेश दिइसकेको उनको भनाइ छ।

सम्बन्धित समाचार