बोर्डर बन्दमा पनि झापामा लागुऔषध कारोबार, स्कुटरको कागजात माग्दा लागूऔषध भेटियो
झापा । सीमा नाका पूर्ण रुपमा बन्द भए पनि लागूऔषको अवैध कारोबार रोकिएको छैन । प्रहरीलाई छक्क्याएर कारोबारीले झापाका विभिन्न ठाउँमा लागू औषधको अवैध कारोबार गर्दै आएका छन् ।
कोभिड महामारीका कारण प्रहरी लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गराउन तल्लीन छ । यही मौकाको फाइदा उठाउँदै कारोबारीले लागू औषधको कारोबार गर्ने गरेको रहस्य खुलेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको मातहतमा लक्ष्मीपुर इन्चार्जका रुपमा कार्यरत ट्राफिक प्रहरी गणेश श्रेष्ठले चेकजाँचका क्रममा लागू औषध सहित एक जनालाई पक्राउ गरेपछि झापामा लागू औषधको अवैध कारोबार हुने गरेको पाइएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा शिबसताक्षी नगरपालिका ९ दूधे निवासी २२ को नवीन लिम्बू रहेका छन् । लिम्बुले चलाएको मे ६ प ७५६९ नम्बरको को स्कुटरबाट ट्राफिक प्रहरीले लागू औषध बरामद गरिएको हो । बरामद गरिएको लागू औषध सहित लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनि पठाइएको बताइएको छ ।
त्यसो त झापामा लागू औषध सहित दिनहुँ एक न एक व्यक्ति पक्राउ परिरहेका छन् । तर, भारतसँग १४४।२ किलोमिटर क्षेत्रफल खुल्ला सिमानाका कारण लागू औषध नियन्त्रणमा प्रहरीलाई सकस देखिएको छ ।
ट्राफिक प्रहरीले पक्राउ परेका लिम्बूलाई सवारीको कागजात देखाउन भनेका थिए । तर, उनीसँग कागजातको सट्टा लागू औषध भेटिएपछि तत्काल इलाका प्रहरी कार्यालय घैलागुब्बालाई खबर गरेको बताइएको छ ।