मेचीनगरको वडा अध्यक्षमाथि भएको आक्रमण निन्दनीय ! नगर सभा बहिस्कार
झापा । मेचीनगर नगरपालिकाको जारी नगर सभा एमाले संसदीय दलले बहिस्कार गरेको छ । शुक्रवार मेचीनगर–१३ का वडाध्यक्ष कृष्ण सिग्देल र स्थानीय अर्जन थेबे बिच भएको घटनाको विषयलाई लिएर नेकपा संसदीय दलले नगर सभा बहिस्कार गरेको हो ।
शुक्रवार दिउसो चारआली चोक पूर्व ढलको निकासको लागि जेसीवी लिएर निर्माणस्थल पुगेका वडाध्यक्ष सिग्देल माथि स्थानीय थेबे लगायतले हातपात गरेको एमाले संसदीय दलले आरोप लगाएको छ । मेचीनगरमा जारी नगर सभामा आइतबार यस विषयले प्रवेश पाएसँगै नगर सभा स्थगित भएको छ ।
एमाले संसदीय दल मेचीनगरले नगर सभा सुरु हुनु पूर्व जनप्रतिनिधि माथि विकास निमार्णको सिलसिलामा भएको घटना तथा ज्यादती विरुद्ध नगरपालिकाको ध्यानाकर्षण हुनुपर्ने र नगर सभामा प्रस्तुत हुने विषय कार्यपालिका बैठकको निर्णय विना नै ल्याउन खोजिएको जनाउदैं नगर सभा बहिस्कार गरेको बताइएको छ ।
एमाले संसदीय दल मेचीनगरको तर्फबाट मेचीनगर–११ का वडाध्यक्ष सन्तोष मेचे, मेचीनगर–१४ का वडाध्यक्ष शङ्कर पोखरेल, कार्यपालिका सदस्य निरु परियारलगायतले विषय उठान गरेका थिए । ‘वडाध्यक्ष घटना’ विषयमा नगरपालिकाको तर्फबाट घटनाको भर्त्सना गर्दे आवश्यक कानुनी कारबाहीका लागि नगरपालिकाले जिम्मेवारी लिनुपर्ने माग राखेको थियो । संसदीय दल मेचीनगरले उठान गरेका विषय माथि छलफल हुन नसकेपछि नगर सभा बहिस्कार गरिएको थियो । तर, नगरपालिका घटनाको सम्बन्धमा कुनै ठोस निर्णय नलिने भएपछि नगर सभा बहिस्कार गरिएको एमाले संसदीय दल मेचीनगरका उपनेता टिकाराम मंग्रातीले बताए । मंग्रातीले भने– ‘जनप्रतिनिधि माथि भएको आक्रमण निन्दनीय छ । नगरपालिकाको विकास निमार्णको सिलसिलामा आक्रमण गरिएको हुँदा नगरपालिका जिम्मेवार बन्नुपर्छ ।’