बृहत् सिँचाइ परियोजना हिँडिया नहरको मर्मत तथा सरसफाइ
झापा । झापाको मेचीनगर–१४, दुहागढीमा जुनसुकै समयमा पनि ३०० हेक्टर जमिन सिञ्चित हुने गरी निर्माण गरिएको हिँडिया रेगुलेटर कुलो मर्मत तथा सरसफाइ गरिएको छ ।
एसियाली विकास बैङ्कको सहयोगमा ५ करोड लगानीमा दुई वर्षअघि निर्माण गरिएको ७ किलोमिटर लामो नहरको मुहानको हेड बक्स, नहर, शाखा नहर र फुट ब्रिज मर्मत गरिएको हो । मुहानदेखि २४ मिटर लामो पक्की नहर छ । एक दशकअघि हिँडिया रेगुलेटर सिँचाइ जल उपभोक्ता संस्था गठन गरी सोही संस्थामार्फत नहरका लागि पहल गरिएको थियो ।
प्रदेश नं १ सरकारबाट यसै आर्थिक वर्षका लागि प्राप्त ४० लाख रुपैयाँ लागतमा नहरका विभिन्न पक्षको मर्मत गरिएको संस्थाका अध्यक्ष एवम् मेचीनगर नगरपालिका वडा नं १४ का वडाध्यक्ष शङ्कर पोखरेलले जानकारी दिए ।
७ सय जति सर्वसाधारण किसान परिवारलाई प्रत्यक्ष लाभ पुर्याइरहेको नहरको सरसफाइ पनि गरिएको छ । सबै उपभोक्ता मिलेर स्वतःस्फूर्त रुपमा सरसफाइ गरिएको हो । ‘हिँडिया रेगुलेटर सिँचाइ आयोजनाको मुहान सरसफाइ शिविर’ नै आयोजना गरेर नहर र नहर वरिपरि सरसफाइ गरिएको संस्थाका सचिव अनिल ढुङ्गानाले बताए । बर्सातको समय भएकोले नहरमा लेदो जम्ने, नहर वरिपरि अनावश्यक झाडी हुने भएकोले सबै उपभोक्तालाई सहभागी गराइ सरसफाइ गरिएको ढुङ्गानाले बताए। नहरको सरसफाइ बर्सेनि गरिएको छ ।
यसअघि सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने दुहागढीका किसानका लागि हिँडिया रेगुलेटर सिँचाइ आयोजना वरदान साबित भएको छ । हिउँदमा पानी नहुँदा जमिन बाँझै छोड्नुपर्ने, बर्सातको समयमा पनि कहिलेकाहीँ खडेरी लागेर बालीनालीमा नोक्सानी व्यहोर्नुपर्ने नियतिबाट त्यस क्षेत्रका किसानले मुक्ति पाएको मात्र होइन सिँचाइको सुविधाका कारण अधिकांश किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएको संस्थाका अध्यक्ष पोखरेलको भनाइ छ ।
संस्थाअन्तर्गत ६ वटा कृषि तथा सिँचाइ समूह रहेका छन् भने तिनै समूहले पालो मिलाएर सिँचाइको व्यवस्था मिलाएका छन् । एउटा समूहमा ३० भन्दा बढी उपभोक्ता सामेल छन् । आयोजनामा आबद्ध किसानलाई मेचीनगरको कृषि शाखामार्फत व्यावसायिक खेतीसम्बन्धी तालिम पनि प्रदान गरिएको सचिव ढुङ्गानाले जानकारी दिए ।