२०८३ जेष्ठ ३० गते , शनिबार

लक्ष्मी माविको टेन्डर प्रकरण : छानबिन समितिद्वारा त्रुटि नै त्रुटि भएको ठहर, प्रधानाध्यापकले मागे पत्रकारसँग स्पष्टीकरण

sajilo news
पार्थ मण्डल
२०७८ असार २१ गते , सोमबार
लक्ष्मी माविको टेन्डर प्रकरण : छानबिन समितिद्वारा त्रुटि नै त्रुटि भएको ठहर, प्रधानाध्यापकले मागे पत्रकारसँग स्पष्टीकरण

(पार्थ मण्डल) झापा । कचनकवल गाउँपालिका–६ बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालयले सार्वजनिक खरिद ऐनको धज्जी उठाउँदै नीति नियम मिचेर दर्ता नभएको फर्मलाई टेन्डर स्वीकृत गरेको छानबिन समितिले ठहर गरेको छ। 

कचनकवलको विद्यालयमा सार्वजनिक खरिद ऐन मिचेर टेन्डर स्वीकृत, पीडित बोलपत्रदाताले बुझाए ज्ञापनपत्र भन्ने शीर्षकमा टाइम्स अफ प्रदेशमा समाचार प्रकाशन भएपछि कचनकवल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेत नेतृत्वमा गएको तीन सदस्यीय छानबिन समितिले सोमबार बिहान विद्यालय पुगेर टेन्डर प्रक्रियासम्बन्धी सम्पूर्ण खातापाता जाँच गरेका थिए।

खातापाता जाँच गर्दा विद्यालयले दर्ता नभएको मेघा नाम गरेको फर्मलाई सार्वजनिक खरिद ऐनविपरीत टेन्डर स्वीकृत गरेको देखिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतको दाबी छ।

‘विद्यालयको टेन्डर प्रक्रियामा नै त्रुटि देखियो,’ शाखा प्रमुख बस्नेतले भने, टेन्डर प्रक्रियासम्बन्धी सम्पूर्ण प्रमाणित कागजात लिएर आएका छौँ, अब छानबिन समितिले त्यही आधारमा लिखित प्रतिवेदन तयार पारेर गाउँपालिकालाई बुझाउने छ।

त्यसपछि गाउँपालिकाले विद्यालयलाई गर्ने कारबाही प्रक्रिया अघि बढाउने उनले बताए। छानबिन समितिका सदस्य तथा गाउँपालिका इन्जिनियर अमित ढुङ्गानाका अनुसार विद्यालयको टेन्डर प्रक्रिया धेरै त्रुटि देखिएको बताए। 

विद्यालय व्यवस्थापन समितिको बैठक बसी निर्णय गरेर खुलाइएको १५ दिने सिलबन्दी बोलपत्र (कोटेसन) आह्वान विद्यालय र गाउँपालिकामा मात्र टाँस गरेको थियो। जुन ऐनविपरीत हो। १५ दिने सिलबन्दी कोटेसनको टेन्डर माग गर्दा खरिद ऐन २०६३, पहिलो संशोधन ऐन, २०७३ को परिच्छेद–५ खरिदसम्बन्धी व्यवस्थाअनुसार सिलबन्दी दरभाउपत्र माग गर्दा राष्ट्रिय वा स्थानीय स्तरको समाचारपत्रमा सूचना प्रकाशन गर्नुथियो। तर त्यो प्रक्रिया विद्यालयले पूरा नगरेको उनले बताए। त्यसै गरी सिलबन्दी कोटेसन आह्वान गरेको विद्यालयले अनलाइनमार्फत पनि फर्म दर्ता गर्ने निर्णय गरेको थियो।

‘विद्यालयले सिलबन्दी कोटेसन आह्वान गरिसकेपछि सही र छापसहित खामबन्दी बिनाको फर्म कसरी अनलाइनमार्फत दर्ता गर्न मिल्छ, अनलाइनका लागि छुट्टै प्रक्रिया र प्रावधान छ,’ उनले भने, ‘निर्णय पुस्तिकामा ६ वटा फर्म मात्र दर्ता भएको देखिन्छ, सातौँ फर्म अनलाइनमा आएको थियो, त्यो पनि प्रधानाध्यापकको व्यक्तिगत इमेलमा, व्यक्तिगत इमेलमा त्यस्तो फर्म हाल्नै पाइँदैन, हाले पनि त्यो सिलबन्दी भएन, किनभने रकम खुलाएर मेल गरेको देखियो।’

विद्यालयले कोटेसन आह्वान गरेपछि बालिकेश सप्लायर्स, एआरबी सप्लायर्स, निब्या सप्लायर्स, कम्प्युटर सोलुसन, डिजिआर पावर टेक र पावर टेक कम्प्युटरले मात्र सिलबन्दी बोलपत्र दर्ता गराएको थिए। नियमअनुसार ६ वटामध्ये पावर टेक कम्प्युटरलाई बोलपत्र परेको देखिन्छ। तर, विद्यालयले पावर टेक कम्प्युटरलाई बोलपत्र स्वीकृत गर्न नमिल्ने भन्दै लिखित रुपमा नै निर्णय गरेको छ। 

‘पावर टेक कम्प्युटरसँग सामान खरिद नगर्ने विद्यालयको योजना थियो भने किन त्यो फर्मलाई दर्ता गरायो, दर्ता गराएपछि त्यो फर्मको सिलबन्दी खाम किन खोल्यो, जुन नियमविपरीत हो,’ उनले भने। संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तरगत लक्ष्मी माविलाई ६ लाख ५० हजारको कार्यक्रम परेपछि विद्यालयले २०७८ असार ३ गते सिलबन्दी बोलपत्र आह्वान गरेको थियो।

विद्यालयले खुलाएको १५ दिने कोटेसनमा इन्टरेक्टिभ प्यानल बोर्ड एक थान, स्मार्ट टिभी दुई थान, ल्यापटप एक थान, प्रोजेक्टर एक थान, कम्प्युटर सामग्री राख्ने दराज एक थान र कम्प्युटर टेबल एक थान खरिद गर्नुपर्ने उल्लेख छ। यो पटक भएर विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकी र व्यवस्थापन समितिका अध्यक्ष भूपाल दंगालले पटक पटक यस्तो गल्ती विद्यालयमा दोहोर्‍याउँदै आएका छन्।

अघिल्लो वर्ष १ नम्बर प्रदेश सरकारबाट आएको ६ लाख ५० हजारको कार्यक्रमबाट विद्यालयले २० थान कम्प्युटर खरिद गरेको थियो। कम्प्युटर खरिद गर्दा मनिटरको ठाउँमा विद्यालयले टिभी स्क्रिन खरिद गरेर ल्याएपछि शिक्षा शाखाले त्यसलाई तुरुन्त फिर्ता गर्न लगाएको शाखा प्रमुख बस्नेतले बताए। 

पत्रकारसँग मागे प्रधानाध्यापकले लिखित स्पष्टीकरण

यसअघि टाइम्स अफ प्रदेशमा आएको समाचारको भोलिपल्ट बिहान विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले यो स्तम्भकारसँग समाचारका विषयमा विद्यालयमा उपस्थिति भई लिखित स्पष्टीकरण मागेका छन्।

समाचारमा चित्त नबुझे त्यसको छुट्टै कानुनी प्रावधान हुँदाहुँदै विद्यालयको लेटर प्याड प्रयोग गरी प्रधानाध्यापक बुढाथोकीले हस्ताक्षर गर्दै लेखेका छन्- ‘लक्ष्मी माविको समाचारमा उल्लेख भएको सम्बन्धमा विद्यालयमा भोलि आई सम्पर्क गर्नुहोस् भन्दाभन्दै विद्यालयमा नआई यहाँको वास्तविक अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन गरेको सम्बन्धी लिखित स्पष्टीकरण पेस गर्नु हुन यो पत्राचार गरिएको छ।’

प्रधानाध्यापक बुढाथोकीले त्यो पत्र आफ्नो फेसबुकसहित गाउँपालिकालाई समेतलाई ट्याग गरेर हालेका छन्। यता पत्रकारसँग लिखित स्पष्टीकरण माग्ने विद्यालयका प्रधानाध्यापक बुढाथोकी अन्य विद्यालयमा शिक्षक पदमा कार्यरत हुँदा पटक पटक विवादको घेरामा आइसकेका स्थानीय बताउँछन्।

२०६३ सालमा शिक्षक क्षेत्रमा प्रवेश गरेका बुढाथोकी दमक नगरपालिका-१० स्थित पाणिनी माविमा विज्ञान शिक्षक भएर कार्यरत थिए।  २०७२ सालमा पाणिनीमा कार्यरत भएका बेला उनले त्यही विद्यालयमा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहारको गरेको आरोप लागेको थियो।

छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि विद्यालय व्यवस्थापन समितिले उनलाई कारबाही गरेको थियो। समितिले उनलाई कारबाही गर्दै विद्यालयमा हाजिर हुन नदिनेसमेत निर्णय गरेको विद्यालय स्रोतले जनाएको छ। 

३५ दिनसम्म विद्यालयमा हाजिर हुनु नपाएपछि उनको जागिर स्वतः खारेज हुने भएपछि उनलाई लक्ष्मी मावि बनियानीमा सरुवा गरेर ल्याइएको थियो। लक्ष्मी माविका विज्ञान शिक्षक विक्रम शाहलाई त्यहाँ सरुवा गरेर उनी २०७२ सालमा यहाँ आएको बताइएको छ। त्यसको केही वर्षपछि लक्ष्मी माविको प्रधानाध्यापक खगेन्द्रबहादुर लम्जेलको घरपायक शिवसताक्षी नगरपालिकाको विद्यालयमा सरुवा भएर गएपछि विद्यालय व्यवस्थापन समितिले बुढाथोकीलाई सिनियर शिक्षक भनेर २०७६ साल वैशाख २७ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारी दिएको हो। 

सम्बन्धित समाचार