झापा र सुनसरीमा सवारी दुर्घटना : एकको मृत्यु, एक जना घाइते
झापा । झापा र सुनसरीमा सोमबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी १ आपगाछी चोकस्थित कोसी लोकमार्गमा स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई को १ क ३४४१ नम्बरको दूधको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा ६ का २५ वर्षीय नरेश यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागी धरान घोपा पठाइएकोमा उपचारका क्रममा आजै साँझ मृत्यु भएको हो ।
त्यसैगरी झापाको दमकसँगै जोडिएको कमल गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र १–०२–०४६ प ४४५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे ८ प ७०२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मे ८ प ७०२२ नम्बरको मोटरसाइकलका चालक इलाम माङसेबुङ गापा–२ का १९ वर्षीय रोमन राई गम्भीर घाइते भएका हुन । उनको तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक ल्याइएको छ ।