फुटबलमा सट्टेबाजी : ठूलो रकमसहित आठ जना पक्राउ
काठमाडौं । युरोकप तथा कोपा अमेरिका फुटबल प्रतियोगितामा ठूलो रकममा सट्टेबाजी खेलाउने ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं-१९ ढोकाटोल बस्ने ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज महानगरपालिका-७ घर भइ कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, भारत बिहार पूर्वीचम्पारण जिल्ला रक्सौल घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता रहेका छन्।
त्यसैगरी चितवन खैरहनी-५ टरौली घर भई काठमाडौं धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, भारत हरियाणा विवरनी जिल्ला घर भई काठमाडौं इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल, भारत राजस्थान घर भइ क्षेत्रपाटी बस्ने ३३ वर्षीय सूचित डालमिया अग्रवाल, मोरङ बिराटनगर ७ घर भई काठमाडौं मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता पनि पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ।
उनीहरुले बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूलाई लाभ हुनेगरी ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराइ खेल खेलाउने गरेको महाशाखाले जनाएको छ। उनीहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरिएको हो। उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।