न्युनतम पारिश्रमिक माग्दै गौरीगञ्जका बालशिक्षक र कर्मचारी धर्नामा
झापा । सङ्घीय सरकारले घोषणा गरेको अनुसारको न्युनतम पारिश्रमिकको माग राख्दै बाल विकास शिक्षक तथा कर्मचारीहरू गौरीगंज गाउँपालिकामा धर्नामा दिएका छन्।
गौरीगंज गाउँपालिकाको मूल गेटमै आज बिहान ९ बजेदेखि नै उनीहरू धर्नामा बसेका हुन् । उनीहरूको धर्ना कार्यक्रमलाई पेसागत सङ्घ सङ्गठनहरूले साथ दिएका छन् भने हिजो सोमबार एक विज्ञप्ति प्रकाशित गरी माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
गाउँपालिकाले नवौँ गाउँ सभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको माग सम्बोधन गरोस् भनेर असार १० गाउँपालिका अध्यक्ष बाबु राजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
सङ्घीय सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेट मार्फत सङ्घले ८ हजार र स्थानीय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार स्थानीय सरकारले बजेट विनियोजन गर्न माग गरेका हुन् ।
नेपाल शिक्षक महासंघ गौरीगंज, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गौरीगंज, युएनटिओ सङ्गठनलगायतका पेसागत सङ्घ सङ्घटनहरूले ऐक्यबद्धता जनाएका हुन् । नेपाल शिक्षक महासंघ गौरीगंजका अध्यक्ष हरिलाल यादवले विकास शिक्षक तथा विद्यालय कर्मचारीको माग सम्बोधन नभए अझ सशक्त आन्दोलनमा उत्रिने बताएका छन् ।