२०८३ बैशाख ५ गते , शनिबार
कचनकवलमा हरिणको छालासहित दुई जना पक्राउ, ६ जना फरार
झापा । दक्षिणी झापाको कचनकवलमा जङ्गली हरिणको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कचनकवल गाउँपालिका– ३ का ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँका २४ वर्षीय समन टुडु रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार कचनकवल–३ स्थित अभिमुक्तेश्वर सामुदायिक वनबाट हस्दा र टुडुसहित आठ जनाले सोमबार राति जङ्गली हरिण मारेका थिए। हरिणको मासु खाइसकेका उनीहरूले हरिणको छाला घरमा लुकाइ राखेको विशेष सूचनाको आधारमा प्रहरी चौकी पथरियाको टोलीले मङ्गबार बेलुकी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा बुझाउने तयारी भइरहेको डिएसपी थापाले बताए। घटनामा संलग्न अन्य ६ जनाको खोजी कार्य भइरहेको उनले बताए।