२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडकी सृजना मृत्यु प्रकरण : हत्यारालाई कडा कारबाहीको माग गर्दै बुहारी आवाजको ज्ञापनपत्र

sajilo news
पार्थ मण्डल
२०७८ असार २९ गते , मंगलबार
बिर्तामोडकी सृजना मृत्यु प्रकरण : हत्यारालाई कडा कारबाहीको माग गर्दै बुहारी आवाजको ज्ञापनपत्र

झापा । बिर्तामोडकी सृजना बस्नेतको हत्यारालाई कडा कारबाहीको माग राख्दै मेची–महाकाली संयुक्त बुहारी आवाजले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ ।  बुहारी आवाज झापाकी संयोजक शिखा खड्का (गणेश) र उपाध्यक्ष गङ्गा भट्टराईको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई सो ज्ञापनपत्र बुझाएका हुन । 
ज्ञापनपत्रमा भनिएको छ, बिर्तामोड नगरपालिका–५ निवासी २५ वर्षीया युवती बस्नेत सोमबार बिहान अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन । घटनामा संलग्न हत्यारालाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाहीको माग गर्दछौँ । घटनाको अनुसन्धानमा कुनै पनि किसिमको ढिलासुस्ती सहन नसकिने उल्लेख गर्दै तत्काल अपराधी सार्वजनिक नगरे सडक सङ्घर्षमा उत्रने चेतावनी समेत दिइएको छ । 
साथै झापाका महिला तथा बालबालिकाको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था हुनु पर्ने। छोरी बुहारीलाई सुरक्षित राख्न कानुन संशोधन गरेरै भए पनि मृत्युदण्डको व्यवस्था राख्नुपर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख छ । आवाजले सो ज्ञापनपत्रको बोधार्थ इलाका प्रहरी कार्यालय अनारमनिलाई पनि बुझाएको छ । 
यता युवती बस्नेतको मृत्यु शङ्कास्पद देखिएको झापा प्रहरीको दाबी छ । युवतीको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ ।  घरको मुख्य गेट र सुत्ने कोठा बन्द हुनु, अनि युवतीको शव सडकमा अर्धनग्न अवस्थामा फेला पर्नुले घटना शङ्कास्पद भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाको बारेमा थप कुरा बाहिर आउने डिएसपी थापाको भनाई छ ।
 

सम्बन्धित समाचार