२०८३ बैशाख ५ गते , शनिबार
निजी विद्यालयका शिक्षकले मागे कोरोनाविरुद्धको खोप
झापा । संस्थागत विद्यालय शिक्षक युनियन नगर समिति बिर्तामोडले कोरोना भाइरस विरुद्धको खोपमा आफूहरूलाई प्राथमिकता दिन माग गरेको छ । जोखिम समूहमा राखेर आफूहरूलाई खोप उपलब्ध गराउन समितिले माग गरेको हो ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाललाई आज ज्ञापनपत्र बुझाउँदै शिक्षक युनियन नगर समितिले यस्तो माग राखेको नगर समितिकी अध्यक्ष रमा ढुङ्गानाले बताए । संस्थागत विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूलाई खोपमा प्राथमिकता दिन स्थानीय सरकारको ध्यानाकर्षण गराइएको ढुङ्गानाले जानकारी दिए ।
विद्यार्थी तथा अभिभावकको निरन्तर सम्पर्कमा रहनु पर्ने भएकाले आफूहरू पनि जोखिममा रहेको संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी बताउँछन् । बिर्तामोड नगर क्षेत्रमा सञ्चालित संस्थागत विद्यालयमा १५ सय भन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन् ।