२०८३ बैशाख ३ गते , विहीबार

सौर्य एयरलाइन्स नाम फेर्ने प्रक्रियामा, नयाँ नाम 'कुबेर एयरलाइन्स'

sajilo news
पार्थ मण्डल
२०७८ असार ३१ गते , विहीबार
सौर्य एयरलाइन्स नाम फेर्ने प्रक्रियामा, नयाँ नाम 'कुबेर एयरलाइन्स'

झापा। निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले कम्पनीको नाम फेर्ने भएको छ। भारतको कुबेर समूहको लगानी भित्रिएसँगै कम्पनीले डेढ वर्ष भित्रमा जहाज संख्या विस्तार गर्दै 'कुबेर एयरलाइन्स' नामाकरणका लागि प्रक्रिया सुरु गरेको जनाएको छ। कम्पनीमा लगानीको ७५ प्रतिशत भारतको कुबेर समूहको छ। अब नाम 'कुबेर एयरलाइन्स' मा रुपान्तरण गर्न लागिएको कम्पनीका अध्यक्ष दीपक पोखरेलले बताए। यसका लागि कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रक्रिया सुरु गरिसकेको उनले जानकारी दिए। 

'हामीसँग भारतको कुबेर समूहको लगानी छ र थप लगानी पनि बढाउँदै छ। उसको लगानी बढी भएपछि कम्पनी स्थापित गर्नका लागि नाम परिवर्तन गर्न लागिएको हो। तत्कालै नभए पनि डेढ वर्षभित्र नाम परिवर्तन गरिने छ,' उनले भने। प्रक्रियाका कारण कम्पनीको नाम परिवर्तन गराउनका लागि केही समय लाग्ने उनले बताए।

कुबेरकै लगानीमा कम्पनीले थप चारवटा एटीआर-७२ जहाज थप्ने योजना बनाएको छ। जहाज थपिए लगत्तै कम्पनीको नाम परिवर्तन हुने प्रक्रिया सुरु गरिएको हो। 'हामीले चारवटा एटीआर ल्याउन लागेका छौं। जहाज खरिदका लागि जेट एयरवेजसँग सम्झौता पनि भइसकेको थियो तर केही कारणले त्यो कम्पनीबाट ल्याउन सकिएन,' उनले भने, 'हामीले अब युरोपियन कम्पनीसँग जहाज खरिदका लागि कुरा गरिरहेका छौं।'  

उनका अनुसार कम्पनीले एक वर्षभित्रै जहाज संख्या सात पुर्‍याउने व्यवसायिक योजना बनाएको छ। सरकारले उड्डयन उद्योगमा विदेशी कम्पनीका लागि ८० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेसँगै कुबेरले सौर्यमा लगानी बढाउँदै लगेको हो। कम्पनीसँग हाल तीन सीआरजे-२००  सिरिजका जहाज छन्। यतिखेर दुई जहाजले नियमित उडान गर्दै आएको उनले बताए।

एउटा जहाज तीन वर्षदेखि ग्राउण्डेड छ। त्यसको मर्मतका लागि कम्पनीले प्राविधिक बोलाएको छ। मर्मतपछि उक्त जहाज पनि तीन महिना भित्रै सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष पोखरेलले बताए। 'वायुसेवा कम्पनीको सबैभन्दा ठूलो खर्च हुने भनेकै इन्जिनमा हो। एउटा जहाजको दुईवटा इन्जिन ल्याउनै ३० करोड रुपैयाँ पर्न आउँछ,' उनले भने, 'ल्याण्डिङ गियरको पाँच करोड रुपैयाँ पर्न आउँछ। हामीले तीनैवटा जहाजका लागि अतिरिक्त इन्जिन र ल्याण्डिङ गियर ल्याइसकेका छौं।'

सौर्यमा डेढ वर्षअघि भारतको कुबेर समूह साझेदार बनेर भित्रिएको हो। कुबेर समूहको प्रवेशसँगै १० वटा नयाँ जहाज थपेर आन्तरिक हवाई व्यवसायमा आफ्नो हिस्सा बढाउने योजना कम्पनीले बनाएको छ। कोभिड १९ का कारण आफ्नो व्यवसायिक योजना अनुसार क्षमता बिस्तार गर्न नसकिएको कम्पनीले जनाएको छ।   मुलुकको आन्तरिक उड्डयन क्षेत्रमा पहिलोपटक जेट इन्जिनयुक्त जहाज संचालनमा ल्याएको  कम्पनीले दुईवटा सीआरजे-२०० जहाजबाट सेवा सुरु गरेको थियो । बिजमाण्डूबाट साभार

सम्बन्धित समाचार