भुक्तानी नपाएपछि शिक्षकद्वारा अर्जुनधारा नगरपालिकामा तालाबन्दी
झापा । सामुदायिक विद्यालयहरूले भुक्तानी नपाएको भन्दै शिक्षकहरूले झापाको अर्जुनधारा नगरपालिकामा तालाबन्दी गरेको छ । नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूका शिक्षकहरूले नगरपालिकाको मूल ढोकामा तालाबन्दी गरेको सिंहदेवी माविका शिक्षक चन्द्र खत्रीले जानकारी दिए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र सङ्घीय सरकारको सशर्त अनुदान अन्तर्गत अघिल्लो आर्थिक वर्षमा अर्जुनधाराका १५ वटा सामुदायिक विद्यालयले न्यूनतम साढे ६ लाखदेखि ३६ लाखसम्म बजेट प्राप्त गरेका थिए । सरकारले विद्यालयको भवन निर्माण र प्रविधि व्यवस्थापन गर्न सो शैक्षिक सुधार कार्यक्रमबाट नगरपालिकालाई करोडौँ रकम पठाएको थियो । सरकारले रकम पठाएपछि विद्यालयहरूले सम्झौता बमोजिम काम सके पनि नगरपालिकाले भुक्तानी नदिएको विद्यालयका शिक्षकहरूले गुनासो छ ् । असार १५ गतेभित्र विल भरपाई नगरपालिकाको लेखा शाखामा बुझाएका थियौ, शिक्षक खत्रीले भने, अहिले बजेट फ्रिज भयो, फिर्ता गयो भन्दै आलटाल गर्ने काम भइरहेको छ । नगरपालिकाले विद्यालयलाई रकम भुक्तानी नगरेकोले तालाबन्दी गरिएको शनिश्चरे माविका शिक्षक पुण्य सुवेदीले बताए । विद्यालयले संरचना बनाउँदा पसलहरूबाट बाँकीमा सामान खरिद गरी काम गरेको बताउँदै उनले भने, अब नगरले भुक्तानी नदिँदा शिक्षकले घर जग्गा बेचेर तिर्नु पर्ने हो रु, यो सब नगरपालिकाको कमजोरी हो । १५ वटा विद्यालयमध्ये २र४ बाहेक अधिकांश विद्यालयले भुक्तानी नपाएको बुझिएको छ । यता शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तोयनाथ रेग्मीले असार ३० गते लेखा शाखाको सफ्टवेयरमा समस्या आएकोले यो अवस्था सृजना भएको बताए । यो समस्या अर्जुनधारामा मात्र नभई अधिकांश स्थानीय तहमा देखिएको बताउँदै उनले भने, 'नगरपालिकाले पहल गरेमा विद्यालयले भुक्तानी पाउँछ ।' कति वटा विद्यालयको भुक्तानी बाँकी छ भन्ने यकिन तथ्याङ्क आफूसँग नरहेको उनले बताए ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले शिक्षकले नगरपालिकालाई जानकारी नगराई एक्कासि तालाबन्दी गर्नु कार्य गलत भएको बताए । 'नगरपालिकाले भुक्तानी दिन चौबिसै घण्टा काम गरिरहेको छ,' उनले भने, 'कहाँ त्रुटि भयो आफूलाई यस विषयमा केही जानकारी भएन ।'