श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ
झापा । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका- ९ स्थित सखुवाथान घर भई हाल झापा गौरादह नगरपालिका-१ शीतल चौक निवासी ३९ वर्षीय सजिलाल रिख्यासन रहेका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
झापा प्रहरीले विशेष सूचनाको आधारमा सोमबार बिहान साढे ५ बजे उनलाई रङ्गेली ९ सखुवाथानमा लुकिछिपी बसिरहेका अवस्थामा पक्राउ गरेको हो। रिख्यासनले असार ३१ गते बिहान ७ बजे गौरादह– १ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा लगेर उनका श्रीमती सङ्गीता टुडुलाई निर्घात रुपमा कुटपिट गरी हत्या गरेका थिए।
श्रीमतीको हत्या गरी उनी त्यही दिनदेखि फरार थिए। घरायसी विवादपछि उनले हत्या गरेका प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी थापाले बताए। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।