२०८३ बैशाख ४ गते , शुक्रबार

म्याद गुज्रेका सामानमा नयाँ मिति टाँसेर बिक्री, दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १७ गते , आईतबार
म्याद गुज्रेका सामानमा नयाँ मिति टाँसेर बिक्री, दुई जना पक्राउ

काठमाडौं  म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित गोदाममा छापा मारेर अभिनास अग्रवाल र महावीर गुज्जरलाई आइतबार पक्राउ गरेको हो।

महाशाखाका अनुसार बिभिन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामान पुराना मितिलाई उप्काई स्टिकरमा नयाँ मिति राखी बिक्री बितरण भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा समिट कमर्सियल प्रा.लि.ले भाडामा लिएको साढे ३ तले घरमा छापा मारेको थियो।

उक्त घरबाट पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी राखिएको एक करोड बराबरको म्याद गुज्रेका कस्मेटिकका सामानहरु बरामद गरिएको महाशाखाले जनाएको छ।

यस्तै काठमाडौं–२२ भोटेबहालमा रहेको  गोदामबाट सोही बराबरको म्याद गुज्रेका अन्य कस्मेटिक सामानहरु पनि बरामद गरिएको महाशाखाले जनाएको छ।

उपभोक्ता हित संरक्षण बिभागको समन्वयमा  गोदाममा  सिलबन्दी गरि थप अनुसन्धान तथा कारबाहीको लागि बिभागको जिम्मा लगाइएको महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार