२०८३ बैशाख ५ गते , शनिबार

साढे चार करोड बढीको कोकिनसहित ९ जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १८ गते , सोमबार
साढे चार करोड बढीको कोकिनसहित ९ जना पक्राउ

काठमाडौं । साढे चार करोड भन्दा बढी मुल्य पर्ने अवैध लागूऔषध कोकिन एक किलो पाँच सय १२ ग्रामसहित प्रहरीले बिभिन्न ९ जनालाई पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंका बिभिन्न स्थानबाट लागूऔषध कोकिन र नगद सात लाख ८८ हजार पाँच सय ७५ रुपैयाँसहित उनीहरुलाई बिभिन्न मितिमा पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार साउन ७ गते काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित होटलमा कोकिनको कारोबार भइरहेको अवस्थामा कारोबारमा संलग्न चारजना पक्राउ परेका थिए।

कोकिन पाँचसय ग्रामसहित मन गुरूङको कोठाबाट नक्कली सुन करिब साढे दुई किलोसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो। सोही घटनाको अनुसन्धानका क्रममा ब्यूरोको टोलीले चितवन भरतपुर महानगरपालिका–७ बाट गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल काठमाडौं–३ रानीबारी बस्ने ४५ वर्षीय सुरोज गुरुङलाई पक्राउ गरेको थियो।

गुरुङसँगको सोधपुछ पश्चात तारकेश्वर–८ गैरीगाउँबाट ६ सय ८३ ग्राम कोकिन र तीन हजार पाँच सय ७५ रुपैयाँ र डिजिटल तराजु बरामद गरिएको ब्यूरोले जनाएको छ।

सोही कारोबारमा संलग्न काठमाडौं–३ रानिबारीबाट ४३ वर्षीया अन्जु थापा मगरलाई तीन सय २९ ग्राम कोकिन र सात लाख ५० हजार नगदसहित साउन १० गते पक्राउ गरिएको थियो। उनीसँगै सोही दिन रानिबारीबाट नै ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीया रक्की आलेमगरलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुकै बयानका आधारमा रानिबारीबाट नै २३ वर्षीया रायल थापा मगर र टोखा नगरपालिका–८ जाल्पा चोकबाट भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका ३९ वर्षीय सन्दिप पटेल डिजिटल तराजुसहित पक्राउ परेका थिए। सोही दिन काठमाडौं–२६ गल्कोपाखाबाट धादिङ निलकन्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाललाई प्रहरीले पक्राउ गरेको थियो।

सोही कारोबारमा संलग्न काठमाडौं–२३ झोंछेबाट ४९ को सुदन शाक्यलाई ३५ हजार रुपैयाँसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ। यस्तै सोही कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले कोटेश्वरबाट धादिंङ निलकन्ठ–११ का २७ वर्षीय मछिन्द्र धमलालाई साउन १४ गते पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तरर्गत जिल्ला अदालतबाट म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

सम्बन्धित समाचार