२०८३ बैशाख ४ गते , शुक्रबार
सशस्त्र प्रहरीद्धारा पाँच लाख मूल्य बराबरको ब्राउन सुगरसहित झापामा दुई महिला पक्राउ
झापा। नेपालमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका-१ हिमाली चोक निवासी ३५ वर्षीया मञ्जु धिमाल र सोही ठाउका २५ वर्षीया विमला धिमाल रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । उनीहरूलाई एक सय ग्राम ब्राउन सुगरसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट गौरीगञ्जको टोलीले पक्राउ गरेको हो ।
बरामद गरिएको ब्राउन सुगरको बजार मूल्य करिब ५ लाख मूल्य रहेको जनाइएको छ । गौरीगञ्ज-४ स्थित कदमगाछीमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा विओपी गौरीगञ्जको टोली उनीहरूमाथि शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगर फेला पारेको एसपी पाण्डेले बताए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्ज बुझाइसकेको जनाइएको छ ।