२०८३ बैशाख ३ गते , विहीबार

एसईईको नतिजाप्रति राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षको असन्तुष्टि

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २४ गते , आईतबार
एसईईको नतिजाप्रति राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन्।  एसईईको नतिजा सार्वजनिक भएपछि अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताए।

उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताए। विद्यार्थीमा पढे पनि पास र नपढे पनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनको भनाई छ।

शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताए। उनले परीक्षा बोर्डले कस्तो विद्यार्थी भनेर नचिनेको दुई वर्ष भइसकेको टिप्पणी गरे।

उनले भने,‘यो किसिमको निर्णय पोल्टिकल लिडरसिपले गर्ने हो भने, निरक्षर मानिसले हाइस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन अवस्था डरलाग्दो छ।’

उनले अगाडि थपे,‘तल्लो तहमा कक्षा अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ शिक्षकलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको छ, त्यो कसरी गर्ने शिक्षकलाई थाहै छैन, नजानेपछि भने जसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकोले पास गरेको भन्छ, पढे पनि पास र नपढे पनि पास गर्दै उ हाइस्कूलसम्म पुग्छ।’

उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताए। उनले आन्तरिक मुल्यांकनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने समेत बताए। यसले देशको शिक्षा प्रणाली र मुलुकको विकास प्रक्रियामा गम्भीर असर पार्ने उनले बताए।

यसको पहिलो जिम्मेवारी देश भएकोले राजनैतिक नेतृत्वहरुले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने धारणा उनको छ।

‘बोर्डले अब्जस बोक्दैमा राज्यको अवस्थामा परिवर्तन आउने भएत अब्जस लिनु हुन्थ्यो, तर यो यथार्थ हो कि, त्यसले दिने रिजल्ट अब्जस भन्दा धेरै विकराल छ, त्यो विकराल रिजल्ट देशले व्यहोर्नुपर्छ’ उनले भने,‘तत्काललाई त बोर्डले अब्जस लेला तर देशले दिने रिजल्टको भागिदार मुलुक हुन्छ, मुलुकको शिक्षा प्रणाली हुन्छ, डेभलपमेण्ट प्रक्रिया हुन्छ, यो डरलाग्दो छ, पोल्टिकल लिडरसिपहरुले यो बारेमा बेलैमा सोच्नुभएन भने ठूलो क्षति हुन्छ।’

त्यसैगरी उनले कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताए। देशैभर परीक्षा संचालन हुने केन्द्रहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा संचालन गर्न सकिने विश्वाश ब्यक्त गरे। कोरोनाको संक्रमणको जोखिमको कारणले यस अघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको उनले बताए। 

सम्बन्धित समाचार