२०८३ बैशाख ४ गते , शुक्रबार

तालिबानीले अफगानिस्तानको तेस्रो प्रान्तीय राजधानी कब्जा गरेको दाबी

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २५ गते , सोमबार
तालिबानीले अफगानिस्तानको तेस्रो प्रान्तीय राजधानी कब्जा गरेको दाबी

एजेन्सी । अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबान लडाकूहरूको समूहले अफगानिस्तानमा अर्को एक प्रान्तीय राजधानी पनि कब्जा गरिएको दाबी गरेको छ।
उनीहरूले अफगानिस्तानमा तेस्रो प्रान्तीय राजधानी कब्जा गरेका बताएका हुन्‌। तर, सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच भीषण भिडन्त भने जारी नै रहेको छ। पछिल्लो तीन दिनमा तीन प्रान्तीय राजधानी आफूहरूले कब्जामा लिएको लडाकूहरूले आइतबार दाबी गरेका छन्।  

लडाकूहरूले देशको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन्। सरकारी सुरक्षाकर्मीहरूसँगको लडाइँ अहिले पनि जारी रहेको पनि उनीहरूले बताएका छन्। उनीहरूले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन्। तालिवान लडाकूहरूले यसअघि जारान्ज र शाबरगान प्रान्तीय राजधानीहरू नियन्त्रणमा लिइएको दाबी गरेका थिए।  

शुरूमा गत शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निम्रोजको राजधानी जारान्ज कब्जामा लिएको र त्यसपछि उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहर आफ्नो नियन्त्रणमा आएको तालिबानले जनाएको छ। 

पश्चिमको हेरात, दक्षिणको कान्दाहार र लस्कर गाहसहितका प्रमुख शहर पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिबान समूहका एक कमाण्डरले बताएका छन्।  अफगानिस्तानको ग्रामीण इलाकामा प्रभाव रहेको तालिबान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ।

यद्यपि अफगानिस्तानको रक्षामन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने बताएका छन्‌। तालिबान समूहले प्रान्तीय शहरलाई आफ्नो नियन्त्रणमा ल्याएको घोषणा सरकारी सुरक्षाबलका लागि ठूलो धक्काका रूपमा लिइएको छ।

सम्बन्धित समाचार