२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा 'प्रहरी हौँ ' भन्दै रकम असुल्ने र कुटपिट गर्ने दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २९ गते , शुक्रबार
झापामा 'प्रहरी हौँ ' भन्दै रकम असुल्ने र कुटपिट गर्ने दुई जना पक्राउ

झापा । सादा पोसाकमा खटिएका प्रहरी  हौँ भन्दै रकम असुल्ने र कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।आफूहरूलाई प्रहरी बताउने कनकाई नगरपालिका- ७ निवासी ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका-३ स्थित पश्चिम धर्म काँटा निवासी ३२ वर्षीय टिका खत्री पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाकारी दिए । 

पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ । प्रहरीका अनुसार साउन ११ गते दिउँसो बिर्तामोड नगरपालिका- ५ जात्रुबारी निवासी नयनसरि राजवंशीको घरमा हामी सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै उप्रेती र खत्री पुगेका थिए । त्यसपछि उनीहरूले नयनसरिलाई तपाईँको छोरा लागु औषध खरिद बिक्री गर्ने काम गर्छ, हामी त्यसलाई पक्राउ गर्न आएको बताए । छोरालाई बचाउन चाहनुहुन्छ भने २० हजार दिनुपर्छ, नत्र मुद्दा चलाउँछु,' उनीहरूले भने । त्यसपछि नयनसरिले उप्रेती र खत्रीलाई ११ सय रुपैयाँ दिएर पठाए । हामी पछि फेरि आउँछौ भन्दै उनीहरू साउन १४ गते राती साढे ९ बजे पुनः नयनसरिको घर पुगे । उनीहरूले नयनसरिका छोरा २५ वर्षीय विशाललाई घर बाहिर बोलाएर हामी एउटा मिसनमा आएको र किन होहल्ला गरेको भन्दै पेन्टमा लगाउने बेल्ट खोली विशाल लगायत अन्य छिमेकीमाथि निर्घात कुटपिट गरी भागेका थिए । 

प्रहरी हुँ भन्दै घरमै गएर रकम माग्ने र कुटपिट गरेपछि नयनसरिले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनिमा घटनाको विषयमा लिखित उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि घटनाको अनुसन्धान गर्दै जाँदा उप्रेती र खत्रीलाई प्रहरीले साउन २८ गते पक्राउ गरेको डिएसपी थापाले बताए । 'पक्राउ परेका दुवै जना प्रहरी होइनन्,' उनले भने, 'प्रहरीको नाम बेचेर अपराध गर्नेलाई कारबाही हुन्छ ।'


सम्बन्धित समाचार