२०८३ बैशाख ४ गते , शुक्रबार
मोबाइल चोरेर भारत बेच्न जान लागेका दुई युवक मेचीनगरमा पक्राउ
झापा । सशस्त्र प्रहरीले चोरी गरेको मोबाइल फोनसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१ निवासी २३ वर्षीय सञ्जय नेपाल र बिर्तामोड नगरपालिका-४ निवासी १७ वर्षीय विजय श्रेष्ठ रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल बोर्ड आउट पोस्ट सतिघट्टाबाट खटिएका टोलीले पैदल गस्ती गर्ने क्रममा उनीहरूलाई सीमा नाकाबाट पक्राउ गरेको हो ।
लुकिछिपी भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा तीन वटा मोबाइल फोन फेला परेको डिएसपी भण्डारीले बताए । सो मोबाइल फोन चोरेर ल्याएको र भारत बेच्न गइरहेको उनीहरूले सशस्त्र प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ ।