मिर्गौला रोगबाट लड्दै भद्रपुरका दुई शिक्षक, सहयोगका लागि अपिल
भद्रपुर । लामो समय शिक्षण सेवामा रहेर योगदान दिएका भद्रपुरका दुई शिक्षक मिर्गौला रोगका कारण जीवनका कठिन मोडमा बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन् । भद्रपुरका पुराना शिक्षक मोहम्मद बदरूद्दिन तथा गीताकुमारी भण्डारी दुवै मिर्गौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा जीवन बचाउने सङ्घर्षमा पुगेका हुन् ।
दुवै मिर्गौला फेल भएर सङ्घर्षपूर्ण जीवन व्यतीत गरिरहेका शिक्षकद्वय मिर्गौला प्रत्यारोपणमा समेत विभिन्न अड्चन भोग्न बाध्य हुनु परेको छ । मिर्गौला भेट्न गाह्रो, भेटिए पनि प्रत्यारोपण गर्न कानुनी अड्चनले दुवै शिक्षकको जीवन जटिल मोडमा पुगेको हो ।भद्रपुर–चन्द्रगढीका विभिन्न विद्यालयमा शिक्षण सेवा दिएका शिक्षक बदरूद्दिनको जीवन जटिल अवस्थामा छ । उनलाई मिर्गौला प्रत्यारोपण गर्न पारिवारिक दाता नै चाहिने कानुनी प्रावधान अनुसार पत्नी असमति बेगमले मिर्गौला दिन खोज्दा उनको शरीरमा एउटा मात्र मिर्गौला भएको खुलासा भए पछि बदरूद्दिन परिवार प्रत्यारोपण गर्ने मिर्गौला नपाएर थप चिन्तामा परेको छ ।
यस्तै मिर्गौला पीडित चन्द्रगढी स्थित वीरेन्द्र माविकी शिक्षक गीताकुमारी भण्डारीको पीडा पनि कम जटिल छैन । नेपालको कानुनी अड्चनकै कारण उनले पाएको दाताबाट नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने अवस्था गुमेको छ । नेपाल बाहिर मिर्गौला प्रत्यारोपण गर्न लाग्ने खर्च धान्न समेत कठिन हुने अवस्थाले भण्डारीलाई अर्को अड्चन पपिएको अवस्था छ । मिर्गौला रोगबाट पीडित दुवै शिक्षक समाजका लागि बिर्सन नसक्ने सम्पत्ति भए पनि जीवन बचाउन के गरी सम्भव हुन्छ सोच्नु पर्ने समय आइसकेको आफन्तहरूको भनाइ छ । यता शिक्षक महासंघ भद्रपुर नगर समितिले शिक्षकहरूसँग सहयोगका लागि अपिल गरेको छ।