२०८३ बैशाख ४ गते , शुक्रबार
यार्सागुम्बा लुटपाट गर्ने सात जना पक्राउ
झापा । काठमाडौँमा सात दिनअघि यार्सागुम्बा लुटपाट गरेको घटनामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित सात जना लुटेरा समूहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
उनका अनुसार खरिद गर्ने बहानामा दीपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरूले लुटेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट सात किलो चार सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको कोइरालाले बताए ।
पक्राउ पर्नेहरूमा मुख्य योजनाकार बझाङका धर्म ओखेडा, म्यानपावर व्यवस्थापन दोलखाका मनोज कुमार श्रेष्ठ, रामेछापका दीपक थापामगर, काभ्रेका विशाल, काभ्रेकै योङदेन लामा,रामेछापका रोशन श्रेष्ठ र भारत काश्मीर आबुपाकरका मोहम्मद ईसाक रहेका छन् । उनीहरूको साथबाट एक लाख ५३ हजार नगद र ८ वटा मोबाइल समेत बरामद गरिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।