२०८३ बैशाख २१ गते , सोमबार

बढ्दो कोरोना सङ्क्रमणका बिच झापामा आजदेखि खुकुलो निषेधाज्ञा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १ गते , मंगलबार
बढ्दो कोरोना सङ्क्रमणका बिच झापामा आजदेखि खुकुलो निषेधाज्ञा

झापा । झापामा दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए।

अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने प्रमुख जिल्ला अधिकारी तिमिसनाले जारी गरेका आदेशमा उल्लेख छ। यातायातका साधन भने दिनभर खुला गरिने भएको छ। सवारी साधनलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न आदेशमा उल्लेख गरिएको छ।

आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ। बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ। हाटबजार, भेला, जुलुसजस्ता भीडभाड हुने कार्यक्रम गर्न प्रशासनले निषेध गरेको छ। होटल तथा लज कुल क्षमताको ५० प्रतिशत सञ्चालन गर्न र हरेक दिन निःसंक्रमण गर्न प्रशासनको आदेशमा जनाइएको छ।

यसअघि झापामा कोभिड संक्रमण बढेको पूर्ण निषेधाज्ञा आदेश जारी हुँदै आएको थियो। झापामा लगातार निषेधाज्ञा हुँदा व्यवसायीले निषेधाज्ञा हटाउन दबाब दिँदै आएका थिए। जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई भेटी निषेधाज्ञा खुलाउन मागपत्रसमेत पेश गरेका थिए। रासस

सम्बन्धित समाचार